
महोत्तरी । चाडपर्व सुरु हुनै लागेपछि महोत्तरीका ओल (माटोमुनि फल्ने मधेसको खास तरकारीबाली) किसानको व्यस्तता थप बढेको छ ।
दसैँ, तिहार र छठलगायत चाडबाड नजिकिँदै गर्दा अहिलेदेखि नै ओल खन्न र भण्डारण गर्न स्थानीय किसान लागेका छन् । खनेर थुपारेको ओल महिनौँसम्म ताजा रहन्छ ।
“अहिले खेतीपातीको अन्य धपेडी छैन, नवरात्र लागेपछि चाडबाडको तयारीमा लाग्नपर्छ । त्यसैले ओल खन्न लागेका छौँ”, भङ्गाहा–४ रामनगरका किसान रामसागर यादव भन्छन्, “अहिले खनेर राखे दशहारा, दीपावली र छठका बेला बजार पुर्याउने काममात्र रहन्छ ।” यादव जस्तै उहाँका छिमेकी हशन कवारी, चन्देश्वर राय दनुवार र उपेन्द्र यादव ओल खन्ने तयारीमा छन् ।
मधेसमा ओल धनीमानीले खाने तरकारीका रूपमा मानिन्छ । यसको मूल्य अन्य तरकारीको तुलनामा बढी पाइने र उत्पादन पनि राम्रो हुने भएकाले महोत्तरीको उत्तरवर्ती क्षेत्रका किसानको रोजाइको बाली बनेको छ ।
जिल्लाका भङ्गाहा, बर्दिवास र गौशाला नगरक्षेत्रका बस्तीमा यसको खेती गरिएको छ । बलवा नगरपालिकाको धमौरा, लोहारपट्टी र मटिहानी नगरपालिकाका अधिकांश बस्तीका किसानले खेती गरेका छन् ।
“व्यापारी घरमा आउने गरेका छन्, नआए पनि बजार पुर्याएपछि बिक्री भइहाल्छ”, बलवा–१० धमौराका नविजान कवारी भन्छन्, “राम्रो भाउ पाउनेबेला पारेर बेच्न सकिन्छ ।” एक कट्ठामा १० क्विन्टलसम्म ओल फल्ने स्थानीय किसानको भनाइ छ ।
मधेसमा ओलको तरकारी, चटनी, अचार र तरुवा प्रसिद्ध परिकार मानिन्छ । पहिले रैथाने ओल हुनेखानेको भान्सामा मात्र पुग्थ्यो । अरू तरकारीभन्दा निकै महँगो भएकाले यो धनीले मात्र खान सक्ने मानिन्थ्यो ।
बजार भाउ र उत्पादन राम्रो हुने गरे पनि महोत्तरीमा यो खेती अझै व्यावसायिक बन्न सकेको छैन । यहाँका किसानले मुख्य खेतीका रूपमा ओललाई अझै स्वीकार गर्न नसकेको भङ्गाहाका कृषि शाखा प्रमुख सन्तोष कार्कीको भनाइ छ ।
किसानले यो खेतीका लागि व्यावसायिक चासो देखाए सुलभ मूल्यमा राम्रो बीउ, प्राविधिक रेखदेख र टाढाका बजारसँग आवश्यक समन्वय प्रबन्ध कृषि शाखाले गर्ने उनको भनाइ छ । पछिल्ला केही वर्षदेखि ओलखेती क्रमशः बढ्दै गएको र केही किसान प्रत्यक्ष सम्पर्कमा आएका उनले बताए ।
थोरै सिँचाइमा पनि हुने र अन्य तरकारी बालीलेभन्दा बढी वर्षा खेप्नसक्ने भएकाले यसको खेती सहजै गर्न सकिने स्थानीय किसानको भनाइ छ । थोरै लगानी र कम मेहनतमा राम्रो उत्पादन लिन सकिने गौशाला–१० लक्ष्मीनियाँका किसान लक्ष्मीप्रसाद महतोको भनाइ छ ।
अन्य बालीभन्दा घामपानी खप्न सक्ने र लामो समयसम्म घरमा भण्डारण गर्न सकिने हुनाले ओल सजिलो र आम्दानीको दृष्टिले भरपर्दो रहेको बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महतो बताउँछन् ।
दुई वर्ष पहिलेसम्म सम्पर्कमै नआउने यहाँका किसान अब भने ओलखेतीबारे सल्लाह लिन थालेको कृषि कार्यालयका फलफूल विज्ञ तथा सूचना अधिकारी अविरलकुमार महतोको भनाइ छ ।












समाचार
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो
मुस्ताङका कृषक मर्कामा : बोटमा स्याउ अडिँदैन, ढुवानीका लागि बाटो छैन
दोहोरो वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर