
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकस्थित शुक्ला हिलेटार शिवालय क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न आवश्यक पहल थालिएको छ । धार्मिक आस्थासँग जोडिएको यस क्षेत्रको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारमार्फत आन्तरिक पर्यटक तथा भक्तजनलाई आकर्षित गर्ने योजना अघि सारिएको हो ।
शिवालय क्षेत्रमा निर्माणाधीन दुग्देश्वर महादेव मन्दिरको निर्माण कार्य पुनः सुरु भएको छ । मन्दिरको जग, पिल्लरलगायतका आधारभूत संरचना निर्माण भए पनि अरु काम बाँकी थियो । शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भण्डारीले धार्मिक महत्व बोकेको यस क्षेत्रलाई व्यवस्थित विकास गरी धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले काम अघि बढाइएको बताए । “शिवालय क्षेत्रलाई आवश्यक पूर्वाधारसहित व्यवस्थित धार्मिक पर्यटकीयस्थल बनाउने लक्ष्य राखेका छौँ”, उनले भने ।
दुग्देश्वर महादेवको मन्दिरलाई शिखर र प्यागोडा शैलीको मिश्रित स्वरूपमा निर्माण गर्ने योजना छ । त्यसका लागि रु एक करोड ३७ लाख लागत अनुमान गरिएको छ । हालसम्म रु ५० लाख सङ्कलन भइसकेको समितिले जनाएको छ । सङ्कलित रकमबाट मन्दिरको जग, पिल्लरलगायतका प्रारम्भिक संरचना निर्माण गरिएको हो ।
बाँकी कामका लागि ठूलो रकम आवश्यकपर्ने भएकाले समितिले सरकारी बजेटको मात्र भर नपरी स्थानीयवासी, भक्तजन, शुभेच्छुक तथा देशविदेशमा रहेका सहयोगदाताबाट रकम सङ्कलन अभियान सुरु गरेको छ ।
समितिले टोलटोलमा पुगेर सहयोग सङ्कलन गरिरहेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । मन्दिर निर्माणका लागि स्थानीयवासी तथा भक्तजनबाट उत्साहजनक सहयोग प्राप्त भइरहेको उनको भनाइ छ ।
धार्मिक पर्यटकलाई लक्षित गरी पूजा दर्शन, धार्मिक कार्यक्रम तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न सकिने सम्भावना रहेको समितिले जनाएको छ । यसबाट स्थानीयस्तरमा व्यापार, होटल तथा अन्य सेवा व्यवसाय विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
शिवालय क्षेत्रको समग्र विकासका लागि आवश्यक पूर्वाधार पहिचान गरी दीर्घकालीन योजना बनाउन विस्तृत परियोजना प्रतिवेदनको तयारी थालिएको छ । उक्त प्रतिवेदनमा पहुँचमार्ग, खानेपानी, शौचालय, पार्किङ, विश्रामस्थल, पदमार्ग, क्षेत्रको सौन्दर्यीकरण तथा भक्तजन र पर्यटकका लागि आवश्यक सेवा–सुविधालाई समेटिनेछ ।
यस्तै, शिवालय क्षेत्रसम्म पुग्ने सडक तथा पहुँचमार्गको स्तरोन्नतिलाई प्राथमिकता दिनुपर्ने समितिको धारणा छ । यस क्षेत्रको प्राकृतिक तथा धार्मिक वातावरण संरक्षण गर्दै आवश्यक संरचना निर्माण गर्ने समितिको योजना छ । समितिले दुग्देश्वर महादेव मन्दिरलाई केन्द्रमा राखेर शुक्ला हिलेटार शिवालय क्षेत्रको समग्र विकास गर्ने लक्ष्य राखेको छ ।













समाचार
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो
मुस्ताङका कृषक मर्कामा : बोटमा स्याउ अडिँदैन, ढुवानीका लागि बाटो छैन
दोहोरो वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर