
गत आइतबारसम्म गण्डकी प्रदेशमा ९७.७८ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार ९३ हजार ९२२ हेक्टरमा रोपाइँ भइसकेको हो ।
म्याग्दी, तनहुँ र लमजुङमा रोपाइँ सकिएको र सबैभन्दा कम गोरखामा ९४.३० प्रतिशत मात्र रोपाइँ भएको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । कास्की, पर्वत र स्याङ्जामा ९९ प्रतिशत रोपाइँ भइसकेको उनको भनाइ छ । यस्तै नवलपुरमा ९५ र बागलुङमा ९७ प्रतिशत रोपाइँ भएको छ । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका ९ जिल्लामा धान खेती हुँदै आएको छ । यस वर्ष बर्खे धान खेतीले ९६ हजार ५३ हेक्टर ओगटेको निर्देशनालयका प्रमुख रेग्मीले बताए ।
गतवर्ष ९७ हजार ७६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो । प्रदेशको कूल ४ लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धान खेती हुने गरेको निर्देशनालयले जनाएको छ । नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ ।
गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् । पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ । गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धान खेती गरिन्छ ।












समाचार
विश्व कीर्तिमानी किली पेम्बा शेर्पा : ब्रड पिकमा रोकियो साहसिक यात्रा
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार