
काठमाडों । दोलखाको गौरीशङ्कर गाउँपालिका–९, बेदिङका विश्व कीर्तिमानी पर्वतारोही किलि पेम्बा शेर्पा (किलु) कहिले पनि नफर्किने गरि अस्ताएका छन् । पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा गएको हिमपहिरोले हिमालसँग जीवन जोडेर संसारभर नेपालको नाम चिनाएका अनुभवी आरोहीले सधैंका लागि यो संसार छोडे ।
किलि पेम्बाको शव शुक्रबार फेला परेको बताइएको छ । यसअघि नेपाली आरोही पुरबहादुर गुरुङ (युक्ता) को शव फेला परेको विवरण सार्वजनिक भए पनि नेपाल सरकारले औपचारिक पुष्टि गरिसकेको छैन । १८ वर्षको उमेरदेखि भरियाका रूपमा हिमाल चढ्न थालेका किलि पेम्बाले कठिन संघर्षलाई सफलतामा रूपान्तरण गर्दै विश्व पर्वतारोहण क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाएका उनका थिए । गाइडका रूपमा काम गर्दै उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए । सन् २०२१ मा विश्वकै दोस्रो अग्लो हिमाल के–टुको पहिलो शीतकालीन सफल आरोहण गर्ने नेपाली टोलीका सदस्य बनेर उनले अर्को ऐतिहासिक कीर्तिमान पनि रचेका थिए । उनले १५ पटक सगरमाथाको सफल आरोहण समेत गरेका थिए ।
निर्मल पुर्जा ‘निम्स दाइ’ नेतृत्वको टोली ब्रोड पिक आरोहणका लागि अघि बढेको थियो। तर शिखरतर्फ जाने क्रममा आएको हिमपहिरोले टोलीका सदस्यहरूलाई सम्पर्कविहीन बनायो। उक्त टोलीमा नेपाल, पाकिस्तान, चीन, अमेरिका ओमानका गरी १० जना पर्वतारोही सहभागी थिए।
किलि पेम्बाको निधनको खबरसँगै बेदिङ गाउँ शोकमा डुबेको छ। गाउँका धेरै युवाका लागि प्रेरणाका स्रोत रहेका उनी अब सम्झनामा मात्र सीमित भएका छन्। स्थानीयले उनको योगदानलाई व्यक्तिगत सफलता नभई समग्र दोलखा र नेपालको गौरवका रूपमा लिएका छन्।
नेपाल सरकारसँग शव यथाशीघ्र पाकिस्तानबाट नेपाल ल्याउने व्यवस्था मिलाइदिन किलि पेम्बाका काका दावाछिरी शेर्पाले आग्रह गरेका छन्। संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल पर्वतारोहण संघलाई १÷२ दिनभित्र नै विश्व कीर्तिमानी किलि पेम्बाको पार्थिव शरीर यथाशीघ्र स्वदेश ल्याइदिन आग्रह गरेको उनले बताए।
हिमालको काखमा जन्मिएका किलि पेम्बाले आफ्नै जीवन हिमाललाई समर्पित गरे। विश्वका अग्ला शिखरमा नेपालको झण्डा फहराउने यो साहसी आरोहीको यात्रा ब्रोड पिकको हिमपहिरोसँगै टुंगिए पनि उनको साहस, समर्पण र विश्व कीर्तिमान नेपाली पर्वतारोहण इतिहासमा सधैं स्मरणीय रहनेछ।










समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय