
घरपालुवा पशुमा कृत्रिम गर्भाधानलाई बढावा दिन राज्यले विभिन्न प्रोत्साहनमूलक कार्यक्रम ल्याएको छ । तर पर्वतमा भने कृत्रिम गर्भाधानप्रति किसानको अकर्षण घट्दै गएको छ । सरकारले रु २५ मा उपलब्ध गराउँदै आएको गाईभैँसीको कृत्रिम गर्भाधान (एआई सेवा) पशु प्राविधिक र चिकित्सकले महँगो शुल्क लिन थालेपछि किसानको आकर्षण घटेको हो ।
किसानले महँगो शुल्क तिर्नुपरेको गुनासो गर्न थालेका छन् । आर्थिक वर्ष २०८०/८१ मा जम्मा एक हजार छ सय १९ वटा गाईभैँसीमा मात्र कृत्रिम गर्भाधान गराइएको छ । जिल्लाभर २६ हजार आठ सय ८५ वटा गाई, ३२ हजार पाँच सय सात भैँसी र ५२ हजार तीन सय १० वटा बाख्रा रहेको तथ्याङ्क छ । गाईभैँसीलाई गर्भाधान गराउने बेला भएको समयमै पशु प्राविधिक र चिकित्सकको सहज उपस्थिति नहुने, भइहाले पनि मनोमानी रूपमा शुल्क तोक्ने गरेका कारण आकर्षण बढ्न नसकेको फलेवास–५ का किसान धर्म पौडेलले बताए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत रु २५ मा उपल्ब्ध हुने पशुको सिड अर्थात् वीर्य किसानका गोठमा पुगेर लगाउँदा प्राविधिकले महँगो शुल्क लिने गरेको पशुपालक किसानको गुनासो छ । कुश्मा नगरपालिका–८ चुवामा सृजनशील कृषि तथा पशु फार्म सञ्चालन गर्दै आएका किसान सृजन पौडेलले कृत्रिम गर्भाधान गराउँदा सरकारी चिकित्सकले महँगो शुल्क लिने गरेका कारण मर्कामा परेको गुनासो गरे ।
सोही ठाउँका अर्का किसान विष्णुप्रसाद भुवाँजीले पनि पशु चिकित्सकको मनोमानीका कारण आफूहरू मारमा परेको बताए । उनले परम्परागत रूपमा भैँसीलाई राँगो र गाईलाई बहर नै खोजेर लगाउँदा आधाभन्दा बढी सस्तो पर्ने गरेको बताए । सरकारी सेवा महँगो बन्दा पेसा नै छाडनुपर्ने भएको किसानले बताएका छन् ।
कुश्मा नगरपालिकाको नगर पशु सेवा शाखाले भने कुश्मा नगर कार्यपालिकाले कुनै पनि नीतिनियम नबनाइदिएका कारण चिकित्सकले आफूखुसी शुल्क लिने गरेको बताएको छ । शाखाका अधिकृत राजेन्द्र सुवेदीले कृत्रिम गर्भाधान सेवा सुरु भएबाट अहिलेसम्म चिकित्सकको अनुकूलमा शुल्क निर्धारण गरेर किसानलाई सेवा दिँदै आएको बताए । उनले रु पाँच सयभन्दा बढी लिन नहुने दाबी गरे ।
चौध वडा रहेको पर्वतको कुश्मा नगरपालिकामा जिल्लामै सबैभन्दा बढी व्यावसायिक पशु फार्म रहेका छन् । जिल्लाका सातवटै स्थानीय तहमा कृत्रिम गर्भाधानको सेवा विस्तार गरिएको भए पनि किसानले परम्परागत रूपमै गराउने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज बाँस्तोलाले बताए ।
उनले विज्ञ केन्द्र वा अन्य शाखामै लिएर आउने पशुलाई रु २५ मा सेवा दिने गरिएको बताए । उनले किसानबाट महँगो शुल्क लिएको बारेमा कुनै गुनासो नआएको बताए । कार्यालय समयभन्दा बाहिर किसानका घरमै पुग्दा पशु विज्ञ तथा प्राविधिकले महँगो शुल्क लिएको हुनसक्ने बास्तोलाले बताए ।
पर्वतको पैंयुँ गाउँपालिकाले भने राँगा पाल्ने किसानलाई अनुदान दिएको छ । पालिकामा कृत्रिम गर्भाधान सेवा उपलब्ध भए पनि गाउँपालिकाले राँगा पाल्ने किसानलाई वार्षिक रु २० हजार अनुदान दिने कार्यक्रम ल्याएको हो । स्थानीय लिमे, पाराकोटे भैँसीको संरक्षण तथा किसानलाई प्रोत्साहन गर्न राँगापालकलाई अनुदान दिन थालिएको प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले बताए । राँगापालकलाई अनुदान दिन यस वर्ष पालिकाले रु आठ लाख विनियोजन गरेको छ ।













समाचार
दुई विश्व कीर्तिमानी किलु : ब्रोड पिकमा कहिल्य नफर्किने गरि अस्ताए
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार