
कास्की । जिल्लाको तेस्रो ठूलो रुपातालको किनार हुँदै सात किलोमिटर आठ सय मिटर पक्की सडक निर्माण गरिएको छ । रुपातालको किनार हुँदै अस्फाल्ट प्रविधिबाट पक्की सडक निर्माण गरिएको हो । तालको किनारैकिनार बनेको सडकले तालमा पर्यटक आगमन वृद्धि भएको बताइन्छ ।
साविकको रूपाताल एकीकृत संरक्षण परियोजनाले २४ करोड ३५ लाख रुपैयाँ लागतमा रुपा गाउँपालिकाको खोला छेउबाट तालबेँसीसम्म तालको देब्रे किनारमा सडक निर्माणका लागि २०७८ साल असार २३ गते डुकुचु कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग ठेक्का सम्झौता गरेको थियो ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङले सम्झौताअनुसार सडक निर्माणको सम्पूर्ण काम सकिएको जानकारी दिए। उनका अनुसार नालाबाहेक साढे पाँच मिटर फराकिलो सडक निर्माण भएको छ । ‘सम्झौताको मितिले ३० महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने भए पनि सुरुमा बजेट अभावमा काममा ढिलाइ भएको थियो । अहिले सम्झौताअनुसारको सबै काम सम्पन्न भएर निर्माण कम्पनीलाई अन्तिम बिल भुक्तानीसमेत गरिसकेका छौँ ।’
सो सम्झौताअनुसार अन्तिम बिल भुक्तानीको १३ महिनाभित्रमा सडकका कुनै संरचनामा क्षति पुगेमा निर्माण कम्पनीले नै बनाउनुपर्ने उल्लेख छ । विसं २०५९ मा सो सडकको ट्रयाक खोलिएको हो । रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारीले आफ्नै लगानीमा सडक निर्माण सुरु गरेको थियो ।
सडक निर्माणसँगै स्थानीयवासीलाई सहज भएको छ । बेगनासतालबाट सुन्दरीडाँडा, तालबेँसी हुँदै लमजुङको भोर्लेटार जाने हालको सडक साँघुरो र जीर्ण भएको अवस्थामा रुपातालको किनार हुँदै बनेको यो सडक वैकिल्पक सडकका रुपमा प्रयोगमा आइसकेको स्थानीयवासी विश्वराज पौडेलले बताए।
रुपा गाउँपालिकाका थुम्की, तालबेँसी, हंशपुर तथा सौरवासलगायत क्षेत्रका स्थानीयवासीलाई समेत सडक निर्माणले सहज भएको छ । ‘सडक निर्माणले हामीलाई धेरै सजिलो बनाएको छ । यसबाट तालको महत्व बढ्ने र पर्यटक आगमन वृद्धि भएको छ’, पौडेलले भने । रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ । साविकको लेखनाथ नगरपालिका–१०, ११ र १४ का केही भाग तालले छोएको छ ।













समाचार
कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
सेवा स्टन्टबाजी होइन, हाम्रो कर्तव्य हो: गृहमन्त्री सुधन गुरुङ
१८ दुईपाङ्ग्रे र २६ चारपाङ्ग्रे प्यासेन्जरसहित ५१ ब्रान्ड सार्वजनिक, नाइमा एक्स्पोको तयारी तीव्र
दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको निर्देशन
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् : ओमप्रकाश अर्याल
राहदानी विभागको सर्भरमा समेत समस्या, दिनभर सर्भर डाउन