
धादिङ । मकैका घोगा कुहिएर बोट सुकेपछि जिल्लाको थाक्रे गाउँपालिका–६ रानीबारीका किसान चिन्तित बनेका छन् । बिरुवा उम्रिएपछि राम्रोसँग हुर्किए पनि दाना लाग्नेबेला घोगा कुहिएर गन्हाउन थालेपछि किसान चिन्तामा परेका हुन् ।
पोलेर खान मिल्ने भएदेखि हरियो घोगा बेचेर नगद लिने किसानले अहिले आफैँले मकै चाख्न पाएका छैनन् । बोटमा घोगा कुहिएर गन्हाएकाले अहिले किसान बारीमा जान सक्ने अवस्था नरहेको रानीबारीका किसान हरि थापाले बताए । थाक्रे गाँउपालिकामार्फत वडा कार्यालयले ५० प्रतिशत अनुदानमा मकैको बीउ उपलब्ध गराएको थियो । किसानले सोही बीउ बारीमा लगाएका थिए । ‘बिरुवा हुर्कदासम्म राम्रै देखिन्थ्यो । जब बोटले सुत्ला च्याप्ने बेला भयो जुँगा चाहिँ सेतो निस्कियो’, थापाले भने, ‘घोगामा दाना लाग्न थालेपछि बोटसहित घोगा कुहिन थाल्यो । केही दिनपछि बोटै सुक्न थाल्यो ।’
स्थानीय सरकारले अनुदानमा उपलब्ध गराएर रानीबारीका किसानले लगाएको मकै सिपी जातको हो । बारीमा ढोड र मकैको घोगा कुहिएर जान सक्ने अवस्था नरहेको थापाको भनाइ छ । छ किलोग्राम मकैको बीउ लगाएकामा पोलेर खान नपाएको किसानले सुनाएका छन् । वडा नं ६ को रानीबारीका मात्रै ६० जनाभन्दा बढी किसानले यही समस्या भोग्नुपरेको छ । ‘सबै ठाउँमा मकै भित्र्याएर कोदो लगाउने बेला भयो । परम्परागत मकैको बिउ लगाउनेले अघिल्लो वर्षकै जस्तो फलाएका छन’, किसान गुरुदत्त गर्तौलाले भने । उनले १८ रोपनी बारीमा आठ किलोग्राम सिपी जातको मकै लगाएका थिए ।
‘बिरुवा उम्रदा बारीमा बोट राम्रै थियो । सुत्ला पनि राम्रै देखिन्थ्यो मकैमा दान लाग्न सुरु भएपछि धानचमारा सुक्न थाल्यो । केही दिनमा बोट र घोगा कुहिन थाल्यो’, गर्तौलाले भने, ‘ढोड र मकैको घोगा कुहिएर बारीमा पस्नसक्ने अवस्था छैन ।’ सेतो जुँगा भएको मकैमा यो समस्या देखिएको गतौंलाको बुझाइ छ । ‘मेरो बारीमा १५ देखि १८ क्विन्टल मकै फल्थ्यो । यस वर्ष एक घोगा घरमा ल्याउन पाइएन’, उनले भने । धेरै फलाउने आशामा रहेका किसानले मकै भित्र्याउन नपाएका रानीबारीका किसान कृष्णबहादुर थापाले गुनासो गरे । ‘भएजति बारी सबै ठाउँमा यही बीउ लगाएँ । अहिले पोलेर खान पनि पाइन’, उनले भने, ‘सरकारले मकैको क्षतिपूर्ति दिनुपर्छ ।’
गाउँपालिकामार्फत वडा कार्यालयले अनुदानमा उपलब्ध गराएको मकैमा समस्या देखिएको जानकारी वडा र गाउँपालिका कार्यालयलाई भएको वडा नं ६ का वडाध्यक्ष हिराबहादुर थापाले बताए । ‘कृषि शाखामार्फत बीउ खरिद तथा वितरण गरेका थियौँ । अहिले समस्या आएपछि स्थलगत अवलोकन गरेर अनुसन्धान गरिरहेका छौँ । किसानको हितमा के गर्न सकिन्छ छलफल पनि भइरहेको छ’, उनले भने ।
यस वर्ष एक हजार दुई सय ३० किलो बीउ वितरण गरेकामा तीन सय २० किलोमा समस्या देखापरेको कृषि शाखा प्रमुख सौगात थापाले जानकारी दिए । मकैको बीउ सप्लार्यस कम्पनी कर्मा सिड र स्थानीय बिक्रेता वाग्ले एग्रोभेटलाई पत्राचार गरी कारण पत्ता लगाउन भनिएको उनले बताए । बीउ खराबीका कारण समस्या आएको भए किसानले क्षतिपूर्ति पाउने उनको भनाइ छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू