
गण्डकी । कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धवलागिरि आयुर्वेद अस्पताललाई अन्तरङ्ग सेवासहित २५ शय्याको सुविधायुक्त आयुर्वेद अस्पतालका रुपमा स्तरवृद्धि गरिने भएको छ । प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले यही कात्तिक १२ गतेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षमा ती अस्पतालमा अन्तरङ्गा सेवा विस्तार गर्ने निर्णय गरेको जानकारी दिए ।
‘रु एक करोड २५ लाखको बजेट सुनिश्चित भइसकेको छ, सेवा विस्तारको काम तत्काल सुरु हुन्छ’, उनले भने, ‘आगामी आवको बजेटमा पनि आयुर्वेद अस्पतालका लागि प्राथमिकतासाथ बजेट विनियोजन गर्छौँ ।’ मन्त्री पाठकका अनुसार गण्डकी प्रदेशमा सञ्चालित आयुर्वेद अस्पतालमा पहिलोपटक अन्तरङ्ग सेवा सुरु गर्न लागिएको हो । प्रदेश सरकारले होमियोपेथिक, आयुर्वेद र प्राकृतिक चिकित्सा गरी तीनै क्षेत्रलाई महत्वका साथ अगाडि बढाइरहेको उनले बताए ।
कास्की र बागलुङको आयुर्वेद अस्पतालमा भवनलगायतका भौतिक पूर्वाधार थप गर्न स्रोत व्यवस्थापनको काम भइरहेको उनको भनाइ छ । ‘आयुर्वेद अस्पताल स्रोतसाधनको अभावमा गुज्रिरहेका थिए, राज्यको पनि खासै ध्यान पुग्न सकिरहेको थिएन’, मन्त्री पाठकले भने, ‘व्यवस्थित पूर्वाधार, स्रोतसाधनको प्रबन्ध गर्दै गुणस्तीय स्वास्थ्य सेवा दिने थलोका रुपमा आयुर्वेद अस्पताललाई विकास गर्नु जरुरी छ ।’
पोखरामा थप एउटा सुविधायुक्त आयुर्वेद अस्पताल सञ्चालनको आवश्यकता रहेको उनको भनाइ छ । प्रदेश सरकार मातहत आएको बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखाको आँपपिपल अस्पताललाई ५० शय्याको अस्पतालका रुपमा सञ्चालन गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम सुरु गरेको मन्त्री पाठकले बताए । स्वास्थ्य क्षेत्रको नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना बनाइएको उनको भनाइ छ । नागरिकलाई सर्वसुलभ र गुणस्तीय सेवा प्रवाहका लागि मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए ।
मन्त्रालयको कार्ययोजनाअन्तर्गत कानूनी सुधार, सुशासन, आपूर्ति व्यवस्थापन, मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत क्षमता विकास तथा विस्तार, सेवा प्रवाह तथा गुणस्तरको सुनिश्चितता, सूचना व्यवस्थापन, जनस्वास्थ्य आपतकालीन तयारी र प्रतिकार्य, सर्ने तथा नसर्ने रोगको व्यवस्थापनलगायतका विषय समेटिएका छन् ।












समाचार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
नेपाली ब्रान्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्री गौरीकुमारी यादवको आह्वान
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काली गण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह
नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा
अदालतले भन्यो : दुर्गा प्रसाईंलाई छाड्देउ
मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध