
तनहुँ । तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । उक्त वडाको बाटक, लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराबाट मात्रै यस वर्ष रु तीन करोड बराबरको सुन्तला बिक्री हुने कृषकको अनुमान छ ।
स्थानीय कृषक भीमबहादुर रानाले यस वर्ष यो वडाबाट ३ करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान गरिएको बताए । लुङ्ग्रिङमा एकै घरबाट २० लाख रुपैयाँभन्दा बढीको सुन्तला बिक्री हुने उनले जनकारी दिए । विगतमा केही अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता भएका बाटकवासी केही वर्षयता भने सुन्तला बेचेरै लखपति बनेको स्थानीय कृषक प्रेम थापाले बताए । यहाँका कृषकको मुख्य आम्दानी नै सुन्तला रहेको उनको भनाइ छ । ‘यहाँका कृषकले सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । पछिल्लो समय सुन्तलामा विभिन्न किसिमका रोग देखिँदा कृषक भने चिन्तित छन्,’ उनले भने ।
सोही वडाका स्थानीय जितबहादुर थापाका अनुसार रोग नलागेको भए ३ करोड रुपैयाँ भन्दा बढीको सुन्तला बिक्री हुने अनुमान थियो । ‘तीन करोडको सुन्तला बिक्री हुने अनुमान छ, तर रोग नलागेको भए अझै धेरै बिक्री हुन्थ्यो होला,’ उनले भने । यहाँ करोडौँ मूल्य बराबरको सुन्तला उत्पादन भए पनि उक्त सुन्तलालाई बजारसम्म लैजान भने समस्या हुँदै आइरहेको छ । नदीपारि रहेको लुङग्रिङ, बाटक, छिपछिपे, छापस्वाँरा तथा दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान समस्या हुने कृषक बताउँछन् ।
लुङग्रिङ र छिपछिपेका कृषकले बुद्धसिंह मार्गको नाल्दीघाट तथा मुग्लिङ नारायणगढ सडकको गाईघाटसम्म जीपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउँछन् । छापस्वाँरा र दगराका कृषकले भने ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा झारेर त्यहाँबाट दमौली हुँदै काठमाडौं लैजाने गरेका छन् ।
नाल्दी र गाइघाटमा पुल नहुँदा ढुवानी खर्च महङ्गो हुने गरेको कृषक हरिकुमार श्रेष्ठको भनाइ छ । ‘यहाँका स्थानीयले सुन्तला, अदुवा, केरा तथा अन्य फलफुल रोपवेबाट नै राजमार्गसम्म झार्ने गरेका छन्,’ उनले भने । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाट तीन तिरबाट नदीले घेरिएको र उक्त ठाउँमा पुल नहुँदा समस्या भइरहेको बताए ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व