
इलाम । दक्षिणी इलामको माई नगरपालिका–१ र ९ को सङ्गमस्थलमा पर्ने तेह्रकुनेपोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । यहाँ घुम्न, तस्बिर खिच्न, भिडियो छायाङ्कन गर्न र वनभोज खान आउनेको हरेक सप्ताहान्तमा भीड लाग्ने गरेको छ ।
स्थानीयवासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै डुङ्गासमेत सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो । जैविक विविधता, प्राकृतिक सौन्दर्य र सुगम भएकाले आन्तरिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको स्थानीय सुवर्ण राईले बताए । ‘शनिबार र सार्वजनिक बिदाको दिन पोखरीमा आउने पर्यटकको भीडभाड हुने गर्दछ’, उनले भने ।
पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले माई नगरपालिकामा आजदेखि तेह्रकुनेपोखरी पर्यटन महोत्सव हुँदैछ । स्थानीय वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता संस्थाको आयोजनामा माई नगरपालिका–१ र ९ को सङ्गमस्थलमा महोत्सव हुन लागेको हो ।
यही फागुन ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय मौलिका संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रबर्द्धनको प्रयास गरिने महोत्सव आयोजक समितिका अध्यक्ष पदम राईले बताए । महोत्सवमा आदिवासी लिम्बू, राई, मगर, तामाङलगायत विभिन्न जातजातिका सांस्कृतिक झाँकी र वेशभूषा प्रदर्शन गरिने उनले जानकारी दिए।
‘यहाँका आदिवासी भूमिपुत्रहरुको मौलिका संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रबर्द्धन गर्ने हाम्रो प्रयास हो । यसका लागि तीनै दिन अलगअलग कार्यक्रम तय गरिएको छ’, अध्यक्ष राईले भने, ‘प्रत्येक दिन फरकफरक जातजातिको पहिचान र संस्कृति झल्कने झाँकीसहित वेशभूषा प्रदर्शन गरिनेछ ।’
किरातीहरुको प्रथम राजा ‘यलम्बर’को मूर्ति स्थापना सहयोगार्थ प्रत्येक दिन साँझमा ‘यलम्बर साँझ’ साङ्गीतिक कार्यक्रम तय गरिएको छ । कार्यक्रममा पहिलो दिन गायक तथा सङ्गीतकार कृष्णभक्त राई, दोस्रो दिन हास्यकलाकार पदम राई र तेस्रो दिन हास्यकलाकार विलसनविक्रम (तोक्मे बुढा) को प्रस्तुति रहनेछ ।
यसैगरी, लिम्बू जातिको धाननाच, पालाम, च्याब्रुङ नाच, राई जातिको साकेला सिली, तामाङ जातिको सेलो, मगर जातिको मारुनी, खसआर्य जातिको सङ्गिनी नृत्यलगायत प्रस्तुत हुने उनले बताए । महोत्सवले तेह्रकुनेपोखरीको थप प्रचारप्रसार गरी पर्यटन प्रबर्द्धन गर्नमा सहयोग पुग्नेमा आफू विश्वस्त रहेको माई नगरपालिका प्रमुख खम्बासिंह लिम्बूले बताए ।
‘विगत चार वर्षदेखि यहाँका स्थानीयले बर्सेनि महोत्सव आयोजना गरिरहनुभएको छ’, उनले भने, ‘यसले तेह्रकुनेपोखरीको थप प्रचारप्रसार गरी पर्यटन प्रबर्द्धन गर्नमा सहयो पुगिरहेको छ भन्नेमा विश्वस्त छु ।’ उनले तेह्रकुनेपोखरीको प्रबर्द्धन र संरक्षणमा नगरको तर्फबाट सधैँ साथ रहने बताए ।
सदरमुकामबाट ३४ किलोमिटर दक्षिणमा अवस्थित तेह्रकुनेपोखरीसम्मको सडक विस्तार जारी छ । अन्य भौतिक पूर्वाधार पनि धमाधम बनिरहेकाले यो पोखरी अधिकभन्दा अधिक पर्यटकको प्रमुख गन्तव्य बन्ने अध्यक्ष राईको विश्वास छ ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल