
बागलुङ । शनिबार बिहानैदेखि पातिहाल्ने क्षेत्रमा चहलपहल बढेको छ । सेताम्य हिउँले ढाकेको जङ्गल, सडक तथा नाङ्गा डाँडा हेर्न र हिउँ खेल्न पुगेका पर्यटकले पातिहाल्नेमा चहलपहल बढेको हो । बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातिहाल्ने क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
हिउँ खेल्नका लागि बागलुङसहित पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न आन्तरिक पर्यटक यहाँ आएका हुन् । शुक्रबार बिहानदेखि हिउँ पर्न थालेपछि पर्यटक पातिहाल्ने उक्लिएका थिए । समुद्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइमा रहेको पातिहाल्ने शुक्रबार र शनिबार गरी झण्डै एक हजार दुई सय पर्यटक हिउँ खेल्न पुगेको स्थानीय थमबहादुर घर्तीले बताए । बाक्लो हिमपातका कारण ठूला सवारीसाधन चल्न नसकेको उनको भनाइ छ ।
पर्यटक मोटरसाइकल र जिपमा घुम्न आएको घर्तीले बताए । पातिहाल्ने पुगेका पर्यटक रिगतालसम्म पुगेको उनले जानकारी दिए । यस वर्ष दोस्रोपटक हिमपात भएको पातीहाल्नेमा करिब डेढ फिट हिउँ जमेको छ । ‘लामो समय खडेरी पर्यो, गर्मी सुरु हुने बेला हिउँ परेपछि टाढाटाढाबाट हिउँ खेल्न सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ आएका छन्, अझै चार–पाँच दिन हिउँ पग्लिदैन, हिउँ पग्लेर नसकिँदासम्म यस्तै चाप हुन्छ, तीनवटै जिल्लाबाट घुम्न आउने पर्यटकले यतिबेला पातिहाल्नेमा निकै रमाइलो भइरहेको छ,’ उनले भने ।
बाक्लो हिउँ परेको हुँदा पातिहाल्ने पुगेका पर्यटक तिलाचन ताल पुग्न सकेका छैनन् । करिब आधा घण्टाको पैदलयात्रामा पुग्न सकिने तिलाचन ताल क्षेत्र पनि हिउँले सेताम्य बनेको छ । हिउँले पातिहाल्ने क्षेत्र निकै मनोरम देखिएको गलकोटबाट घुम्न पुगेका विकास क्षेत्रीले बताए । यसभन्दा अगाडि पनि साथीसँग बर्खाको समयमा घुम्न आएको सुनाउँदै शनिबार सात जनाको समूह भएर हिउँ खेल्न पुगेको उनको भनाइ छ ।
‘पहिले बागलुङ, पूर्वीरुकुम र रोल्पाको सिमाना निकै टाढा होला भन्ने लागेको थियो तर नजिक रहेछ, दुई घण्टामै यहाँ आउन सकिने रैछ, हिउँले पातिहाल्ने र माथिल्लो डाँडा ढपक्क हिँउले ढाकिएको देख्दा निकै रमाइलो भयो’, उनले भने, ‘हामीहरू मोटरसाइकलमा गएका थियौँ, हिउँमा मोटरसाइकल चिप्लिएर समस्या हुँदोरहेछ, एकै दिन सयौँको सङ्ख्यामा हिउँ खेल्न पुगेका रहेछन् ।’
एक दशक अगाडिसम्म गुमनाम रहेको पातिहाल्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिएपछि चर्चामा छ । उच्च पहाडमा रहेको यस क्षेत्रमा पछिल्लो समय बस्तीसमेत बस्न थालेपछि देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । पातिहाल्ने जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय ३५ किलोमिटर पश्चिममा पर्छ ।













समाचार
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक
सेयर बजारको गिरावटमा लागेन ब्रेक, परिसूचक ७ अंकले घट्दा ४ अर्बको कारोबार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने