
तेह्रथुम । छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफामा पछिल्लो समय आन्तरिक पर्यटकको नजरमा पर्न थालेको छ । स्थानीय सरोकारवालाको पहलमा चाङलुङ गुफाको पर्यटन प्रवद्र्धन र प्रचारप्रसारको काम थालिएपछि उक्त स्थान पर्यटकको नजरमा पर्न थालेको हो ।
चाङलुङ गुफा क्षेत्रमा हरेक दिनजसो आन्तरिक पर्यटक पुग्ने गरेका छथर गाउँपालिका–६ का वडाध्यक्ष महेन्द्र मादेनले बताए । उनका अनुसार हिउँदयाम वनभोज खाने र विशेष अवसरमा चाङलुङ गुफामा आन्तरिक पर्यटकको घुइँचो लाग्छ । करिब ३८ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा एक सय ५० मिटर लामो गुफा प्रकृतिको अनुपम उपहारका रूपमा रहेको छ । ‘टर्चलाइट’को सहायतामा अँध्यारो गुफा पार गर्दा मनमा केही डरसँगै रोमाञ्चक अनुभूति हुन्छ । यहाँ अन्य स–साना थुप्रै गुफा छन् । प्राकृतिक रूपमै मिलेर बसेका ढुङ्गाका थाक, ठुल्ठूला चट्टान, पहरा, विभिन्न प्रजातिका वनस्पति र चराचुरङ्गीको आवाजले चाङलुङ गुफा विचरणलाई थप यादगार बनाउँछ ।
यहाँ चाङलुङ देवी, मच्छिन्द्र देवीलगायत अन्य देवीदेवताको बासस्थान रहेको किंवदन्ती छ । स्थानीयले तिनको विशेष पूजाआराधना गर्दै आएका स्थानीय रमेश खड्काले बताए । किंवदन्तीअनुसार प्राचीनकालमा चाङलुङ गुफाबाट चार किलोमिटर माथिको दारेगौँडाबाट एक बिजुवानी र एक कुकुर गुफाभित्र छिर्दा कुकुर मात्र चाङलुङ गुफामा निस्कियो । बिजुवानीभित्रै कतै अलप भइन् । उनी नै चाङलुङ देवी र मच्छिन्द्र देवीका रूपमा परिणत भएको विश्वासमा स्थानीयले पूजाआजा गर्न थालेको र यहाँ शक्तिशाली देवी रहेको विश्वास रहेको स्थानीय बुद्धिमान लिम्बूले बताए ।
चाङलुङ गुफाको पर्यटन प्रवद्र्धनमा तीनै तहका सरकारले लगानी गरेका छन् । विसं २०७५ यता चाङलुङ गुफा पर्यटन प्रवद्र्धनमा तीन तहका सरकारका रु तीन करोड बजेट खर्च भइसकेको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए । पर्यटक आकर्षित गर्न स्वागतद्वार, चट्टाने पहराको टुप्पोमा रिफ्रेसमेन्ट (हावाघर), सिँढी मार्ग, रेलिङ, फलैँचा, लभपार्कजस्ता संरचना निर्माण गरिएका छन् ।
कतिपय संरचना निर्माणाधीन अवस्थामा रहेका वडाध्यक्ष मादेनले बताए । प्राकृतिक रूपमा अत्यन्तै सुन्दर र अनौठो लाग्ने चाङलुङ गुफालाई भविष्यमा पूर्वकै अब्बल पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको छथरका अध्यक्ष लिम्बूले बताए। कोशी राजमार्गअन्तर्गत धनकुटाको सिधुवा बजारबाट शुक्रबारे बजार हुँदै छथर गाउँपालिका–५ मार्सेसम्म १२ किलोमिटर पक्की सडक र त्यहाँबाट तीन किलोमिटर कच्ची सडक हुँदै चाङलुङ गुफा पुग्न सकिन्छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह