
मनाङ । बेँसीसहर–चामे खण्डमा बस सञ्चालनका लागि परीक्षण गर्न सदरमुकाम चामेसम्म पहिलो पटक बस पुगेको छ । लमजुङ सदरमुकाम बेँसीसहरबाट यात्रु लिएर बेँसीसहर–पोखरा सञ्चालन हुने ना ६ ख ९५७९ नं को बस पहिलो पटक सदरमुकाम चामे पुगेको हो ।
सफल रूपमा बस चामे पुगेपछि मनाङबासी खुसीले दंग परे । आगामी नयाँ वर्षदेखि मनाङ सदरमुकामसम्म नियमित रूपमा बस सञ्चालन गर्ने तयारी भएसँगै निजी क्षेत्रको एकल प्रयासमा चामेसम्म बस पु¥याइएको बस सञ्चालक सुरेश घिमिरेले बताए । उनका अनुसार अन्नपूर्ण पदयात्राका लागि आउने विदेशी पर्यटकलाई लिएर उक्त बस यही चैत ७ गते चामे पुगेर हो ।
घिमिरेका अनुसार चालक विनोद रिमालले सहज रूपमा बसलाई चामेसम्म पु¥याएर फर्किनुभएको छ । मनाङको सडक साँघुरो र अधिकांश भाग कच्ची भए पनि अनुभवी चालक भए बस सञ्चालनमा समस्या नहुने भन्दै नयाँ र कम अनुभव भएका चालक उक्त खण्डमा नखटाइने उनले बताए । सञ्चालक घिमिरेले स्थानीय प्रशासन तथा मनाङबासीको साथ पाए आफूले नियमित रूपमा बेंसीसहर–चामे खण्डमा यात्रुवाहक बस सञ्चालन गर्न सकिने धारणा राखे । ‘हामीले सडकको अवस्था हेरेका छौँ । अहिले परीक्षणका क्रममा अनुभव पनि भयो । अब नियमित बस सञ्चालन गर्न समस्या छैन, अनुमति पाए बस सञ्चालन गर्न सकिन्छ’, उनले भने ।
जिल्ला प्रशासन कार्यालयले जिल्लामा यात्रुवाहक बस सञ्चालनको तयारी थालेको छ । गत फागुन २५ गते जिल्ला प्रशासन कार्यालयमा बसेको समन्वयात्मक बैठकले बेँसीसहरबाट चामेसम्म आगामी वैशाख १ गते नयाँ वर्षदेखि सार्वजनिक बस सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । यसका लागि स्थानीय प्रशासनले डुम्रे–बेँसीसहर–चामे सडक आयोजना र अन्य सरोकार भएका निकायसँग छलफल गरी लाई आवश्यक निर्देशन जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
डेढ दशकअघि मोटर सञ्चालन हुन थालेको मनाङमा हालसम्म बोलेरो, टाटासुमो जस्ता साना सवारीसाधनले मात्र यातायात सेवा दिइरहेका छन् । बेँसीसहरबाट चामेसम्मको करिब ६४ किलोमिटर सडकमा यात्रा गर्न अहिले बोलेरोले प्रतियात्रु रु एक हजार २५० भाडा लिने गर्दछन् ।
पाँच जना यात्रु अट्ने जीपले १०–१५ जनासम्म यात्रु र मालसामन बोक्दा यात्रा जोखिमपूर्ण बन्ने गरेको स्थानीय बताउँछन् । बस सञ्चालनमा ल्याउन सकिएमा स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ । साथै महँगो भाडाको मारमा परेका स्थानीय र पर्यटकलाई आर्थिक भार कम हुनेछ ।
बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको सात किलोमिटर सडक कालोपत्र भएको छ । खुदीभन्दा माथि चामेसम्म ठाउँठाउँमा १० किलोमिटर सडक ढलान गरिएको छ । बाँकी ४७ किलोमिटर कच्ची सडक रहेकामा साँघुरा घुम्तीमा मर्मत गरी बस सञ्चालनको तयारी गरिएको मनाङ प्रशासनले जनाएको छ ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन