
काठमाडौं । नेपाल सरकार, भारतीय दूतावास र स्थानीय तहबिच प्रभावकारी सामुदायिक विकास आयोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय दूतावास र नौ स्थानीय तहबिच शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्न त्रिपक्षीय सम्झौता भएको हो ।
सम्झौताअनुसार भारत सरकारले नौवटा स्थानीय तहमा विद्यालय संरचना तथा स्वास्थ्य चौकी निर्माणका लागि आर्थिक सहायता उपलब्ध गराउनेछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार सम्झौताअनुसार चंखेली गाउँपालिका हुम्लामा पाँच शैय्याको अस्पताल निर्माण गर्न भारत सरकारले आर्थिक सहयोग गर्नेछ ।
चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले गाउँपालिकाले नेपाल सरकारसँग समन्वय गरी पाँच शय्याको अस्पताल निर्माणका लागि प्रस्ताव पेश गरेको जानकारी दिए । उनका अनुसार संघीय मामिला मन्त्रालयमार्फत भारतीय दूतावासलाई पठाइएको प्रस्ताव अनुमोदन भइसकेको छ र छिट्टै अस्पताल निर्माण कार्य सुरू हुनेछ ।
‘हुम्ला नेपालकै एक विकट जिल्ला हो । यहाँबाट सुविधा सम्पन्न अस्पतालसम्म पुग्न झण्डै दुई दिनको यात्रा गर्नुपर्छ । स्वास्थ्य सेवा अभावका कारण धेरै नागरिकले अकालमै ज्यान गुमाइरहेका छन्,’ अध्यक्ष शाहीले भने, ‘यसकारण हामीले पाँच शय्याको अस्पतालका लागि पहल गरेका थियौं, जुन सफल भएको छ । अस्पताल निर्माण भएपछि प्राथमिक स्वास्थ्य सेवाबाट वञ्चित स्थानीयवासीलाई सहज उपचार सुविधा उपलब्ध हुनेछ ।’
उनका अनुसार अस्पताल निर्माणको सम्पूर्ण प्रक्रिया नेपाल सरकारको कानुनअनुसार अघि बढाइनेछ । डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भइसकेको छ टेन्डर आह्वान गरेर काम अघि बढाइनेछ । अनुमानित लागत २० करोड रुपैयाँ रहेको उक्त अस्पताल १८ महिनाभित्र सम्पन्न गरिनेछ । शाहीले अस्पताल निर्माणका लागि समन्वय गर्ने नेपाल सरकार, भारतीय दूतावास तथा अन्य सरोकारवालाहरूप्रति आभार प्रकट गर्दै निर्माण कार्य तत्काल सुरू गरिने बताए ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल