
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रभित्र हुने अव्यवस्थित व्यावसायिक हेलिकप्टर उडानमा पालिकाले पुनः कडाइ गरेको छ । पर्यावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण, स्थानीय व्यापार व्यवसाय तथा पर्यटन गतिविधिमा पर्ने नकारात्मक असरलाई रोक्न गाउँपालिकाले सन् २०२५ को सुरुवातदेखि उक्त निर्णय कार्यान्वयनमा ल्याएको हो ।
तथापि हेलिकप्टर कम्पनीहरुले नियमको बेवास्ता गरेको भन्दै गाउँपालिकाले पुन सुचना जारी गर्दै आपत्ति जनाएको छ । गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाद्वारा जारी सूचनामा स्थानीय नागरिकहरूको चासोलाई सम्बोधन गर्दै उद्धार, कार्गो तथा सीमित पर्यटकीय उडानबाहेकका सबै व्यावसायिक हेलिकप्टर उडानमा प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ ।
सूचनामा भनिएको छ, ‘सगरमाथा क्षेत्र, विशेषतः लुक्लाभन्दा माथिल्लो भेगमा अब स्वास्थ्य संस्थाको सिफारिसमा मात्र हुने वास्तविक उद्धार उडान, अनुमति प्राप्त कार्गो ढुवानी तथा चार हजार तीन सय मिटरभन्दा कम उचाइमा एकपटक अवतरण गरी सञ्चालन गरिने माउन्टेन फ्लाइटहरूलाई मात्र अनुमति दिइनेछ ।’
गाउँपालिकाले सूचनाको अवज्ञा गर्दै व्यावसायिक हेलिकप्टर उडान गर्ने हेलिकप्टर कम्पनी, ट्रेकिङ व्यवसायी तथा प्याकेज खरिद गर्ने पर्यटकहरू स्वयं जिम्मेवार हुने चेतावनी दिएको छ । साथै प्याकेजमार्फत व्यावसायिक उडानको खरिद–बिक्री नगर्न र कुनै किसिमको संशोधन वा परिवर्तन भएको भन्ने गलत सूचनामा विश्वास नगर्न समेत सबै सरोकारवालासँग अनुरोध गरिएको छ । उक्त निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गाउँपालिकाले स्थानीय संघसंस्था, नागरिक समाज, पर्यटन व्यवसायी, गाइड तथा सम्पूर्ण स्थानीय बासिन्दाहरूको सक्रिय सहयोग पनि अपेक्षा गरेको छ ।














समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय