काठमाडौं । शनिबार भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुने गरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् ।
पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशसचिव विक्रम मिश्रीले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन् ।भारतका विदेश सचिव मिस्रीले पाकिस्तानका सैन्य अपरेसन्स प्रमुख (डीएमजीओ) ले आज दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेका र पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गरेका छन् ।
छोटो विज्ञप्तिमा मिस्रीले भनेका छन्, ‘दुवै पक्षबीच आज साँझ भारतीय समय अनुसार १७ः०० बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।’ दुवै पक्षका डीएमजीओहरूलाई यो सहमति कार्यान्वयन गर्न निर्देशन दिइसकिएको छ । साथै, दुवै अधिकारीबीच मे १२ मा दिउँसो १२ बजे फेरि संवाद हुने जानकारी पनि दिइएको छ ।
पाकिस्तानका विदेशमन्त्री इसहाक डारले जियो टिभीसँगको कुराकानीमा भारतसँग भएको सहमति आंशिक नभई पूर्ण युद्धविराम सम्झौता भएको स्पष्ट पारेका छन्। यसअघि, पाकिस्तानका विदेशमन्त्रीले दुवै देश युद्धविराम गर्न सहमत भएका बताएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराममा सहमत भएको घोषणा गरेका थिए ।