
काठमाडौं । अमेरिका र क्यानडाबीचको व्यापार वार्ता अन्तिम समयमा भाँडिएपछि दुई देशबीचको व्यापारिक तनाव थप चर्किएको छ। क्यानडाले अमेरिकी वस्तुमाथि अमेरिकाले लगाएको कर बराबर नै प्रतिशोधात्मक कर लगाउने घोषणा गरेको छ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले शुक्रबार राति व्यापार वार्ता स्थगित गर्दै अमेरिकी वस्तुमाथि ‘डलर फोर डलर’ का दरले पारस्परिक कर लगाउने घोषणा गरेका हुन्। उनले अमेरिकी पक्षबाट वार्ताको अन्तिम चरणमा प्रस्ताव गरिएका सर्तहरू अनुचित र आर्थिक रूपमा अव्यावहारिक रहेको भन्दै त्यस्ता सर्तले सम्भावित व्यापार सम्झौताको विश्वसनीयतामाथि प्रश्न उठाएको बताए।
जुलाईदेखि दुई देशका अधिकारीहरूबीच व्यापार सम्झौताका लागि गहन वार्ता हुँदै आएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तुमाथि ५० प्रतिशतसम्म कर लगाउने चेतावनी दिएका थिए। वार्तामा प्रगति भएको भन्दै ट्रम्पले यसअघि केही समयका लागि उक्त कर स्थगित गरेका थिए।
तर सम्झौताको समयसीमा नजिकिँदै गर्दा कार्नीले वार्ताबाट पछि हट्ने निर्णय गरेका हुन्। ‘वार्तामा महत्त्वपूर्ण प्रगति भएको थियो, तर क्यानडाली नागरिकको उद्देश्य पूरा गर्न त्यो पर्याप्त भएन,’ कार्नीले भने। उनले अमेरिकी प्रस्तावमा अन्तिम समयमा गरिएका परिवर्तनलाई अनुचित र अर्थतन्त्रका लागि हानिकारक भएको बताए।
अमेरिकाको आरोप– क्यानडाले सहमति उल्ट्यायो
वार्ता स्थगित भएपछि अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले क्यानडाले यसअघि तय भएको सहमतिअनुसार सम्झौता अन्तिम रूप दिन अस्वीकार गरेको आरोप लगाए।
उनका अनुसार अमेरिकाले क्यानडालाई प्रमुख निर्यातक राष्ट्रमध्ये सबैभन्दा अनुकूल व्यापारिक व्यवहार दिने प्रस्ताव गरेको थियो। तर क्यानडाले नयाँ माग अघि सार्दै यसअघि भएका केही प्रतिबद्धताबाट पछि हटेपछि वार्ताको सन्तुलन बिग्रिएको अमेरिकी पक्षको दाबी छ।
यसअघि दुई देशबीचको वार्तामा क्यानडाली स्टिल र आल्मुनियममा लाग्दै आएको अमेरिकी ५० प्रतिशत कर घटाएर २५ प्रतिशतमा ल्याउने तथा क्यानडाली मोटरमा लाग्ने २५ प्रतिशत करलाई १५ प्रतिशतमा झार्ने विषयमा छलफल भएको थियो। त्यसको बदलामा प्रधानमन्त्री कार्नीले क्यानडाका प्रान्तहरूलाई अमेरिकी मदिरा पुनः पसलका सेल्फमा राख्न अनुमति दिन आग्रह गरेका थिए।
क्यानडाली वस्तुमाथि फेरि ५० प्रतिशत कर
वार्ता असफल भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले सन् १९३० को ‘ट्यारिफ एक्ट’ अन्तर्गत क्यानडाबाट आयात हुने विभिन्न वस्तुमाथि नयाँ ५० प्रतिशत कर लागू गर्ने भएका छन्।
नयाँ करको प्रभाव वाइन, दुग्धजन्य पदार्थ, सिमेन्ट, कपडा तथा हकी उपकरणलगायत विभिन्न क्यानडाली उत्पादनमा पर्नेछ। ट्रम्प प्रशासनले गत वर्षदेखि अघि बढाएको आक्रामक कर नीतिका कारण अमेरिका र क्यानडाबीचको दशकौँ पुरानो मुक्त व्यापार सम्बन्धमा तनाव बढ्दै आएको छ। पछिल्लो वार्ता असफल भएसँगै दुई छिमेकी तथा प्रमुख व्यापारिक साझेदारबीचको व्यापार युद्ध थप गहिरिने संकेत देखिएको छ।












समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला