
म्याग्दी । म्याग्दीको अत्यन्त दुर्गम गाउँ गुर्जा अझैसम्म पनि सडक सञ्जालमा जोडिएको छैन । जिल्लाको धवलागिरि गाउँपालिका वडा नं १ मा पर्ने गुर्जामा सडक सञ्जालको पहुँच नपुगेको भए पनि आन्तरिक पर्यटकको आकर्षणको पहुँच भने पुगेको छ । ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखान म्याग्दीमा निकै प्रचलित छ । जिल्लाको अन्तिम गाउँ गुर्जा छन्त्याल जातिको ठूलो बस्ती भएको गाउँ हो । यो गाउँलाई छन्त्याल समुदायको जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखी झ्याल भनेर पनि चिनिन्छ ।
पछिल्लो समय गुर्जा गाउँ आन्तरिक पर्यटकको उत्कृष्ट गन्तव्य स्थल बन्दै गएको छ । लुलाङ–गुर्जा सडक योजनाअन्तर्गत गुर्जा जोड्ने सडकको १६ किलोमिटर ट्रयाक निर्माण भएपछि यहाँ आन्तरिक पर्यटकको ओइरो लाग्न थालेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । थप ५ किलोमिटर ट्रयाक निर्माण गरेमा गुर्जा सडक सञ्जालमा जोडिने छ । त्यसपछि धेरैका लागि रहस्य बनेको गुर्जा गाउँमा सदरमुकाम बेनी बजारबाट एकैदिनमा जाउआउ गर्न सकिने छ ।
वडाध्यक्ष छन्त्यालका अनुसार लुलाङबाट देउराली–लत्रवाङ हुँदै भालुखोरियासम्म १६ किलोमिटर ट्रयाक निर्माण भएको छ । अब गाउँ पुग्न ५ किलोमिटर मात्र बाँकी छ । “गुर्जा सडक सञ्जालसँग जोडिएपछि धेरैको गुर्जा पुग्ने सपना पूरा हुनेछ”, उनले भने । लुलाङ–गुर्जा सडकका लागि सङ्घीय, गण्डकी प्रदेश सरकार र गाउँपालिकाले रु २/२ करोड बजेट विनियोजन गरेर ३ करोड ८० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको हो । अहिले पनि धमाधम काम भइरहेको छ ।
समुद्र सतहबाट ३ हजार २२० मिटर उचाइमा अवस्थित गुर्जा गाउँमा २०८२ साल सुरु भएपछि व्यक्तिगत र संस्थागत रूपमा भ्रमण गर्नेको संख्या बढेको छ । सदरमुकाम बेनी बजारका केही संस्था गुर्जा पुगेर विभिन्न किसिमका कार्यक्रम पनि गरेका छन्त्यालले बताए । केही दिन अघिमात्र म्याग्दी जेसिजको एक टोली गुर्जा पुगेर फर्केको छ । ‘गुर्जा गाउँ पर्यापर्यटन र सांस्कृतिक तथा जैविक विविधताका लागि अध्ययन अवलोकन गर्न खुला विश्वविद्यालय जस्तो रहेछ’, जेसी सुमन बानियाँले बताए ।
यो गाउँमा जडीबुटी, खानी र पर्यटकीय सम्भावनाका प्रशस्तै खजाना रहेका हालै गुर्जाको भ्रमण गरेर फर्किनुभएका म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए । ‘गुजमुज्ज परेका परम्परागत शैलीका सफा र चिटिक्कका घर, रहरलाग्दो पशुपालन, विषादी र रासायनिक चिजहरूको प्रयोग नगरीकन फलाइने ‘अग्र्यानिक’ उत्पादन, चारैतिर हरिया वनजङ्गल, भीडभाड र कोलाहल मुक्त परिवेश, मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्याल समुदाय, गुर्जा साच्चिकै आकर्षक स्थल हो, यो जीवनमा एकपटक पुग्ने पर्ने ठाउँ हो’, अध्यक्ष श्रेष्ठले भने ।
प्राकृतिक सुन्दरता, जैविक विविधता, सामाजिक मूल्यमान्यता र पर्यावरणीय शुद्धता नै गुर्जाको विशेषता हो । यहाँ वैशाखदेखि जेठको पहिलो सातासम्म व्यक्तिगत, संस्थागत र राजनीतिक भेटघाट वा कार्यक्रमका लागि गरी १०० बढी आन्तरिक पर्यटक पुगिसकेका स्थानीय कमल छन्त्यालले बताए ।
गुर्जा गाउँलाई ‘एडभेन्चर ट्रेल हब’का रूपमा विकसित गर्नुपर्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठले बताए । यहाँबाट ढोरपाटन, पुथा र चुरेन हिमालको आधार शिविर हुँदै एउटै पदमार्गबाट रुकुम निक्लने यार्सा पदमार्गसमेत पहिचान गरी प्रयोगमा ल्याउने पहल भइरहेको छ ।













समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक
सेयर बजारको गिरावटमा लागेन ब्रेक, परिसूचक ७ अंकले घट्दा ४ अर्बको कारोबार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए