काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय समाचार समिति (रासस) फोटो पुस्तकले नेपालको प्रकृति, संस्कृति र सम्पदालाई तस्वीरका माध्यमबाट प्रवर्द्धन गरेको बताएका छन् । राससद्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ को आज सिंहदरबारस्थित मन्त्रालयमा ग्रहण गर्दै उनले पुस्तकले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका हुन् ।
पर्यटनमन्त्री पाण्डेले भौतिक विकास, प्राकृतिक तथा सांस्कृतिक सम्पदा, संस्कृतिलगायत मुलुकभित्र रहेका विविध पहिचानको उजागर गर्दै पुस्तकले ‘नेपालमा केही भइरहेको छ, सकारात्मक परिवर्तन भइरहेका छन्’ भन्ने आशाको सञ्चार गरेको धारणा राखे । “नेपालमा केही पनि भएको छैन भनेर निराशा सम्प्रेषण गर्ने प्रवृत्ति बढिरहेका बेलामा पुस्तकले आशाको सञ्चार भर्ने काम गरेको छ । मुलुकको पहिचान बोकेका मूल्यवान् तस्वीर खिच्नुहुने फोटो पत्रकार साथीहरू, पुस्तक प्रकाशनमा खटिनुहुने रासस व्यवस्थापनलगायत रासस परिवारलाई धन्यवाद दिन चाहन्छु,” उनले भने ।
पर्यटनमन्त्री पाण्डेले नेपालको परिचय र पहिचानलाई प्रवर्द्धन गर्न रासस फोटो पुस्तकको महत्त्वपूर्ण भूमिका रहने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । “राससको फोटो पुस्तकले नेपालको प्रकृति, संस्कृति, सम्पदा र भौतिक विकासलाई समेट्न खोजेको छ”, उनले भने, “यसले मुलुकमा भौतिक विकास निरन्तर भइरहेको छ भन्ने सन्देश दिनुका साथै नेपाल प्रकृति र संस्कृतिमा समृद्ध छ भन्ने सन्देश प्रवाह गरेको छ ।”
मन्त्री पाण्डेले आगामी दिनमा ‘रासस फोटो पुस्तक’ थप प्रकाशन गरेर बढीभन्दा बढी सङ्ख्यामा स्वदेशी तथा विदेशीको हातमा पुर्याउन मन्त्रालयले आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाए । “पर्यटन प्रवर्द्धन र पर्यटकीय गन्तव्यका बारेमा जानकारी उपलब्ध गराउन पुस्तकले महत्त्वपूर्ण सहयोग पु¥याउने विश्वास लिएको छु । रासस, पर्यटन मन्त्रालय र मातहतका अन्य निकायबीच सहकार्य र समन्वय गरेर पुस्तकको पुनःप्रकाशन र थप वितरण गर्नुपर्ने जरुरी छ,” उनले भने ।