काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा टाइम्स बास्केटबल क्लब र रोएलले जित हात पारेका छन् । कीर्तिपुर कभर्डहलमा भएको खेलमा टाइम्सले सामाखुशी युथ क्लबलाई ९७-७३ ले पराजित गरेको हो ।
यस जितपछि ९ खेलबाट १५ अंक जोडेको टाइम्स फाइनल पुग्ने होडमा कायम छ । एक खेल कम खेलेको गोल्डेनगेट र हाउण्ड्स एकेडेमीको पनि १५ अंक नै छ । गोल्डेनगेट र हाउण्ड्सले अझै दुई खेल खेल्न बाँकी छ । टाइम्सले सामुखशीमाथि चारै क्वाटरमा दबाब बनाउँदै अग्रता लिएको थियो । टाइम्सले पहिलो क्वाटर २०-१५ र दोस्रो क्वाटर २८-२४ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ४८-३९ को अग्रता बनाएको थियो ।
तेस्रो क्वाटर पनि टाइम्सले २३-२१ ले आफ्नो पक्षमा पार्यो । चौथो क्वाटर २५-१३ ले सहजै आफ्नो पक्षमा पार्दै टाइम्सले फराकिलो जित हात पारेको हो ।
टाइम्सका लागि सदिश प्रधानले सर्वाधिक ३३ अंक स्कोर गरे । सामाखुशीका प्रज्वल महर्जनले २१ अंक जोडे । टाइम्सका मनिष केसी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । टाइम्सले अब लिगको अन्तिम खेल हाउण्ड्ससँग खेल्न बाँकी छ । यस्तै दोस्रो खेलमा रोएलले कीर्तिपुरलाई ९९-९६ ले पराजित गर्यो । पहिलो क्वाटरमा कीर्तिपुरले २६-२५ को अग्रता बनायो । तर रोएलले दोस्रो क्वाटरमा पुनरागमन गर्यो र २८-२१ ले आफ्नो पक्षमा पार्दै हाफटाइममा ५३-४७ को अग्रता बनायो । तेस्रो क्वाटर रोएलले २०-१७ ले आफ्नो पक्षमा पार्यो । यस्तै चौथो क्वाटर पनि रोएलले २६-२२ ले आफ्नो पक्षमा बनायो ।
रोएलका सुजन महर्जन मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । रोएलका लागि प्रसाङ ध्वज मास्केले ३१ अंक बनाए । यस्तै कीर्तिपुरका लागि निश्चल महर्जनले ३३ अंक जोडे । तेस्रो जितपछि ९ खेलबाट १२ अंक जोडेको रोएल कीर्तिपुरला२ नै पछि पार्दै चौथो स्थानमा उक्लेको छ ।
लिगमा बुधबार शीर्ष दुई टोली गोल्डेनगेट बास्केटबल क्लब र हाउण्ड्स एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।