
बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले पर्यटकीय क्षेत्र हात्तीढुङ्गाको प्रवद्र्धन गर्न थालेको छ । एक दशक अगाडिसम्म गुमनाम रहेको हात्तीढुङ्गामा पछिल्लो समय धार्मिक पर्यटकको आकर्षण बढ्दै गएपछि नगरपालिकाले पूर्वधार निर्माणमा जोड दिएको छ ।
जैमिनी–९ पैयुँथन्थापमा पर्ने उक्त हात्तीढुङ्गाका स्थानीय बुढापाकाका अनुसार विसं २००६ तिर फेला परेको थियो । ठूलो ढुङ्गामा हात्तीको जस्तो सुँड छ । उक्त ढुङ्गालाई विसं २०१२ देखि गाउँलेले गणेशको रूपमा पूजा गर्दै आए पनि बाहिरबाट खास्सै भक्तजन जाँदैन्थे । अहिले प्रचारप्रसार हुन थालेपछि जैमिनी र आसपासका क्षेत्रबाट पर्यटक पुग्ने गरेका छन् । नगरपालिकाले हात्तीढुङ्गा क्षेत्रमा पर्यटकीय पूर्वधार निर्माण गर्दै आएको छ । यस वर्ष पनि संघीय सहरी विकास मन्त्रालयबाट विनियोजित एक करोड लागतमा सडक लगायतका पूर्वधार निर्माण गरिएको छ ।
नगर उपप्रमुख हरिहर शर्माले ५० लाखमा बारीखेतदेखि हात्तीढुङ्गा जोड्ने सडक निर्माण गरिएको र ५० लाखमा मन्दिर, खेलमैदान, सत्तल लगायतका पूर्वधार निर्माण गरेको उनको भनाइ छ । यसभन्दा अगाडि खानेपानी र शौचालय लगायतका संरचना बनाइसकेको शर्माले बताए । स्थानीयले पहिले सिद्धीविनायक गणेश मन्दिर गरेर पूजाआजा गर्दै आएको भन्दै सोही स्थानमा शिव मन्दिर निर्माण गरिएको शर्मा बताउँछन् ।
उपप्रमुख शर्माले भने, ‘हात्तीढुङ्गा जैमिनीको प्रमुख पर्यटकीय गन्तव्य हो, यसलाई पर्यटकीय र धार्मिक हिसाबले विकास गर्दै गइरहेका छौँ, पछिल्लो समय यहाँ आउने भक्तजनको सङ्ख्या पनि बढ्दै गएको छ, यहाँ नागरिकको पनि ठूलो लगानी छ, राज्यका विभिन्न निकायबाट हालसम्म रु एक करोड ४० लाख बढी लगानी भएको छ, यसको प्रवद्र्धनका लागि नगरपालिकाले पनि निरन्तर बजेट विनियोजन गरेर काम गर्दै आएको छ ।’
स्थानीय तुलबहादुर थापा यहाँ पूजा गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वास रहेको हुँदा पछिल्लो समय धार्मिक पर्यटक बढ्न थालेको बताए । खास गरि यहाँ शिवरात्रिमा ठूलो पूजाआजा हुने हुँदा जैमिनीसहित, बरेङ, बागलुङ, गुल्मी लगायतका ठाउँबाट भक्तजन आउने गरेको उनको भनाइ छ । पहिले गाउँका स्थानीयले मात्रै पूजाआज गर्ने हात्तीढुङ्गामा अहिले टाढा–टाढाबाट भक्तजन आउन थालेपछि चहलपहल बढ्ने गरेको थापा बताउँछन् । यहाँसम्म आइपुग्ने सडकलाई थप व्यवस्थित बनाउन जरुरी रहेको उनको भनाइ छ ।













समाचार
अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन
१३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउँदै ईयू, के हुन् प्रस्तावित नयाँ नियम?
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
आज विश्वकर्मा पूजा, सवारीसाधनको पूजाआजा गरी मनाइदै
एभरेष्ट बैंकको सेयरमूल्य समायोजन
मनसुनी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
डलरको मूल्य स्थिर, युरोको बढ्दा पाउण्डको घट्यो, कुन देशको विनिमयदर कति ?
चामे–बेँसीसहर सडक अवरुद्ध
बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग
उपत्यकाका १००० भन्दा बढी पसलमा ११० रुपैयाँ किलोमा चिनी सर्वसुलभ रूपमा पाइने सरकारको दाबी