
तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्यस्थल मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने भएको छ । पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बन्दै गएको मानुङकोटलाई व्यवस्थित बनाउने उद्देश्यसहित नगरपालिकाले पर्यटकीय ग्राम बनाउन लागेको हो ।
मानुङकोटको आकर्षणलाई व्यवस्थित गर्न एकीकृत जग्गा विकास आयोजना विस्तार गर्ने लक्ष्य लिइएको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । मानुङकोटको मौलिक चरित्रलाई यथावत् राखी आधुनिक ढङ्गबाट विकासको अभियान सञ्चालनका लागि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न सम्बन्धित जग्गाधनीहरू र नगर विकास कोषसँग सहकार्य गरिने न्यौपानेले बताए । “मानुङका मगरहरूले जग्गा छोड्दै जाने र बाहिरबाट आएर जग्गा किने क्रम बढ्दै गइरहेको छ । त्यसैलाई मध्यनजर गर्दै मानहुँका जग्गाहरूलाई व्यवस्थापन गर्न खोजेका हौ,” उनले भने ।
नगरपालिकाले मानुङकोटसँगै व्यास नगरपालिका–६ स्थित शिशाघाट नयाँ सहर आयोजनामा एकीकृत जग्गा विकास आयोजना विस्तार गर्ने लक्ष्य लिएको छ । मानुङकोट पछिल्लो समय दृश्यावलोकन केन्द्रको रूपमा विकास भइरहेको छ । यहाँबाट देखिने सूर्योदय र कुहिरोको दृश्यले पर्यटकलाइै लोभ्याउने गरेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठको भनाइ छ । राति बास बसेर बिहानै सूर्योदय र कुहिरो हेर्न आन्तरिक पर्यटक आउने गरेको होटल व्यवसायी चूडामणि दाहालले उल्लेख गरे । मानुङकोटमा पर्यटक उक्लिने क्रम बढेपछि यहाँ होटल खुल्ने क्रम बढेको छ । विगतमा होटल समेत नरहेको यस ठाउँमा अहिले एक दर्जन होटल खुलिसकेका छन् । दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ हालेको छ । रेलिङसँगैको भागमा हालै पैदलमार्ग निर्माण गरिएको छ ।
मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।
मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो । अलैँचेबाट मानुङकोटसम्मको चार हजार ३०० मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा १८० मिटर आरसिसी ढलान गरिएको छ ।













समाचार
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु