
खोटाङ । रावाबेँसी गाउँपालिका–६ हौँचुरका सरोज खालिङ राई रोजगारीको खोजीमा सन् २००९ मा युएई ९युनाइटेड अरब इमिरेड्स० दुबाई पुगेका थिए । तीन वर्ष अर्काको देश (दुबाई) मा श्रम र पसिना बगाएका सरोजले धेरै अनुभव र थोरै पैसा लिएर सन् २०१२ मा स्वदेश नेपाल फर्किए ।
मेनपावर कम्पनीमा बुझाएको धरौटी रकम फिर्ता गरेर केही रकम बचत गरेका सरोज स्वदेश फर्किएपछि पुनः विदेश नजाने निचोडमा पुगे । अर्काको देशमा आफूले पाएको दुःख सम्झेर पुनः विदेश नफर्कने निर्णयमा पुग्नुभएका सरोजले गाउँ फर्किएर व्यावसायिक बङ्गुर फार्म सञ्चालन गरे । सुरूमा बङ्गुरले राम्रो उत्पादन दिँदै थियो । व्यावसायिक बङ्गुर पालनमा निकै उत्साहित बनेका सरोज आफूले उत्पादन गरेका बङ्गुर बिक्री नभएपछि छोटो समयमै निरुत्साहित बने । बङ्गुरपालनबाट करिब रु १८ लाख घाटा बेहोरे।
ठूलो लगानीमा सुरू गरेका बङ्गुरपालन व्यवसाय छाडेर सरोज पुनः बाख्रापालनमा लागे । बाख्रापालनका लागि जनशक्ति अभाव भएपछि त्यसलाई पनि छाडेका सरोजले सम्भावनाका खोजी गर्न भने छाडेनन् । गाउँमै केही गर्ने उद्देश्यसहित सम्भावनाका खोजी गरिरहेका सरोजले छ वर्षअघि एउटा युटु्यब च्यानलमा ‘ड्रागन फ्रुट’को व्यावसायिक खेती गर्ने विधिसम्बन्धी दिइएको जानकारी राम्ररी हेरे । गाउँमै बसेर केही गर्ने हुटहुटीमा छटपटाइरहेका सरोज त्यो युट्युब च्यानलकै माध्यमबाट भारतको हैदरावादसम्म पुगेर ड्रागन फ्रुटखेती गर्ने विधिसम्बन्धी हप्ता दिनको तालिम लिए।
तालिम लिएकै ठाउँबाट २५० वटा ड्रागन फ्रुटका बिरुवा खरिद गरी साथमै लिएर आफ्नो घर हौँचुर फर्किए । घरमा आएर पाखो बारीमा रोपे । अहिले ती बिरुवालाई मदर प्लान्ट (आमा बोट) को रूपमा विकास गर्दै त्यसैबाट बर्सेनि नयाँ बिरुवा उत्पादन गरेर विस्तार गरे ।
सुरूमा २५० वटा बिरुवा ल्याएर व्यावसायिक खेती थाल्नुभएका सरोजको फार्ममा अहिले दुई हजार ७०० वटा ड्रागन फ्रुटका बोट छन् । सरोजको फार्मभरि अहिले राताम्मे भएर फलेका ड्रागन फ्रुट टिप्ने दोस्रो लट (चरण) को सिजन (समय) सुरू भएको छ ।
तीन वर्षअघिदेखि उत्पादन दिन थालेको फार्मबाट गत वर्ष दुई हजार केजी बिक्री भएको थियो । बर्सेनि उत्पादन वृद्धि हुँदै गएको फार्ममा यस वर्ष तीन हजार केजीभन्दा बढी ड्रागन फ्रुट उत्पादन हुने अनुमान गरिएको सरोजले जानकारी दिए । एउटा बोटबाट सरदर २५ केजी उत्पादन हुन थालेको फार्मबाटै प्रतिकेजी रु ३०० मा बिक्री गर्दा रु छ लाख सङ्कलन भएको सरोजले जानकारी दिए। करिब २० रोपनी पाखो बारीमा लगाइएको ड्रागन फ्रुट खरिद गर्नका लागि ग्राहक सरोजको घरैसम्म पुग्ने गरेका छन् ।
ड्रागन फ्रुट खरिदका लागि घरैमा आउने ग्राहकलाई प्रति केजी रु ३०० मा बिक्री गरिरहेको सरोजले जानकारी दिनुभयो । “खेती हेर्नकै लागि पनि मानिसहरू फार्ममा पुग्ने गरेका छन् । ड्रागन फ्रुट पाकेको सूचना फेसबुकमा हालेपछि ताजा फल खान र चाख्नैका लागि पनि ग्राहकहरू आउँछन्”, उनले भने, “ड्रागन फ्रुटको माग बढ्दो छ । ग्राहकको मागलाई मध्यनजर गरेर थप जग्गामा खेती विस्तार गरिरहेको छु । आगामी दिनमा प्रतिकेजी रु ५० सम्ममा बिक्री गर्नेगरी विस्तार गरिरहेको छु ।”
ड्रागन फ्रुटमा औषधीय गुण हुने र नेपालको लागि नौलो किसिमको फल भएका कारण माग बढ्दै गएको सरोजले बताए । कृषि पेसामा फाइदा हुँदैन भन्ने भनाइलाई गलत सावित गर्दै सरोज व्यावसायिक ड्रागन फ्रुटखेतीमा रमाए । एक छोरा र एक छोरीकी बुबा सरोजलाई श्रीमती कौशिला लिम्बूले सहयोग गर्दै आउनुभएको छ । झापाको गोमेन्द्र बहुमुखी क्याम्पसमा व्यवस्थापन सङ्काय लिएर स्नातकसम्म अध्ययन गर्नुभएका सरोजले २०७६ सालबाट गाउँमा आएर ड्रागन फ्रुटको व्यावसायिक खेती सुरू गरेका हुन् ।
सरोज र कौशिला दम्पती काम गर्ने जाँगर र आँट भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणसमेत बनेका छन् । युवा शक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनुपर्छ भन्ने सन्देश प्रवाह गर्न ड्रागन फ्रुटखेती सुरू गरेको उनीहरु बताउँछन् । ड्रागन फ्रुट फूल फुलेको ३५–४५औँ दिनमा फल पाकेर खानका लागि योग्य हुने र टिपेर राख्दा १० र १५ दिनसम्म नबिग्रिने सरोजले जानकारी दिनुभयो । सरोजले ड्रागन फ्रुटखेतीका लागि मात्र रु १८ लाख लगानी गरिसकेको जनाइएको छ । व्यावसायिक कृषि पेसामा होमिएका किसानको बजारको चिन्ता नहुने गरी बजार प्रवद्र्धन गर्ने र उत्पादनमा आधारित भएर अनुदान दिने वातावरण मिलाउनुपर्नेमा सरोजको जोड छ । सामान्य अनुदानले कृषि क्षेत्रको प्रवद्र्धन नहुने र उत्पादन पनि नबढ्ने भएकाले राजनीतिक स्वार्थभन्दा माथि उठेर किसानका लागि सहयोग गर्न सरकारलाई सरोजको आग्रह छ ।
सरोजले सुरू गरेको व्यावसायिक कृषि फार्ममा ड्रागन फ्रुटसँगै आँप, कागती र केराको व्यावसायिक खेती गर्नुका साथै मौरीपालन गरे छ । सरोजको फार्ममा लगाइएका ड्रागन फ्रुट, केरा र मौरीले उत्पादन दिन थाले पनि आँप र कागतीका बिरुवा भने भर्खर हुर्कंदै गरेका छन् ।
एकपटक बिरुवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य केही गर्नु नपर्ने र रोपेको २०/२५ वर्षसम्म लगातार फल दिने हुनाले अन्न खेतीबालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने सरोजले बताए । जेठ अन्तिमदेखि मङ्सिर अन्तिमसम्म फल दिने ड्रागन फ्रुटको एउटै बोटबाट हरेक वर्ष आठ पटकसम्म फल टिप्न मिल्ने सरोजले जानकारी दिए ।
घरेलु तथा साना उद्योग कार्यालय खोटाङमा ‘हिमालयन एग्रो फार्म’ दर्ता गरेर व्यावसायिक कृषि व्यवसाय सुरू गर्नुभएका सरोजलाई गाउँपालिकाले ड्रागन फ्रुटका लागि पिलर निर्माण तथा टायर खरिदका लागि रु दुई लाख अनुदान रकम उपलब्ध गराइएको कृषि शाखा प्रमुख उद्धव बास्तोलाले जानकारी दिए । युवा कृषक सरोजलाई आगामी दिनमा सहयोग गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम