
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा साहसिक स्काइ वाक आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएको थियो । स्काइ वाकका लागि प्रतिव्यक्ति रु २५० शुल्क तोकिएको छ ।
ऐनापहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित गाउँपालिकाले स्काइ वाक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । रु १५ लाखको लगानीमा स्काइ वाक निर्माण गरिएको हो । कूल ५० मिटर अग्लो र ५७ मिटर लामो स्काइ वाकको प्रत्येक पाइला बीचमा एक फिटको खाली स्थान राखिएको छ । ‘स्काइ वाकमा हिँड्दा हरियाली, शान्त पहरा र खुला आकाशको बीचमा एक अनौठो साहसिक अनुभव गर्न सकिनेछ । सुरक्षा उपायसहितको उच्च गुणस्तरीय निर्माण भएकाले डर मान्नुपर्ने अवस्था छैन,’ उनले भने ।
यस ठाउँ पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनिरहेको रहेकाले यहाँ पूर्वाधार थप गरिएको उनको भनाइ छ । स्काइ वाकले यहाँको पर्यटन विकास र साहसिक गतिविधिका लागि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । पृथ्वीराजमार्गसँगै जोडिएको यस ठाउँ पर्यटकको घुम्ने गन्तव्यको रुपमा विकास भएको छ । बिदा र शनिबार दिन यहाँ आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । शनिबार यहाँ एक हजारभन्दा बढी पर्यटकको आगमन हुने गरेको आँबुखैरेनी गाउँपालिका–२ का वडाध्यक्ष आशबहादुर गुरुङले जानकारी दिए ।
ढुङ्गामा विभिन्न कलात्मक आकृति कोरिएको यस ठाउँ पर्यटकको रोजाइमा परेको उनले बताए । ‘गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा अगाडि बढाएको छ । राजमार्गसँगै जोडिएकाले पनि यस ठाउँ रोजाइमा पर्ने गरेको छ,’ उनले भने । ऐनापहराबाट गाउँपालिकाले रु ६० लाखभन्दा बढी आम्दानी गरिसकेको छ । राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीय स्थलको रुपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ ।
यहाँ झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ । तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न आयोजनाको विस्तृत प्रतिवेदनअनुसार रु १० करोड बजेट आवश्यक पर्छ । प्रतिवेदनअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन