
टीकापुर । टीकापुर नगरपालिका–४ का किसान टेकेन्द्र धामीले गत वर्ष केराखेतीबाट रु १५ लाख आम्दानी गरे । उनले गत वर्ष तीन बिघा सात कठ्ठामा गरिएको केराखेतीबाट रु ४७ लाखको केरा बिक्री गरेको बताए ।
‘समयमै उत्पादन हुँदा रु ४७ लाखको केरा बिक्री गरेँ, फुटकर बिक्री गरेको हिसाब राखेको छैन’, उनले भने, ‘एक बिघामा रु १५ लाखसम्म कमाएको छु ।’ धामीले १९ बिघामा केराखेती गरेका छन् । यसका साथै तीन बिघामा उखु, अन्य जमिनमा धान र केराको टिस्यु कल्चर बेर्ना उत्पादनको काम गरिरहका छन् । १४ वर्षदेखि केराखेतीमा संलग्न उनले थोपा सिँचाइ प्रविधिबाट खेती गर्दै आएका छन् । यसरी केराखेतीमा लागेका धामीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले साथ दिएको छ ।
‘आयोजनाले थोपा सिँचाइ, पावर टिलर, अटो सहयोग गरेको छ, मैले उत्पादन गरेका केराका बेर्ना अन्य किसानलाई वितरण गर्न सहयोग गर्ने गरेको छु’, धामीले भने । केराखेतीबाट मनग्य आम्दानी हुने गरेको थाहा पाएपछि स्वदेशमै भविष्य बनाउन र रोजगारीका अवसर सिर्जना गरिरहेका धामीलाई यो पेसाबाट सन्तुष्टि मिलेको छ । ‘आफ्नो जमिन सदुपयोग र बाँकी जमिन भाडामा लिएर खेती गरिरहेको छु’, उनले भने, ‘मल, पोषक तत्व सहजै पाउन भने कठिन हुने गरेको छ । लागतअनुसार बजार नपाउँदा कहिलेकाहीँ समस्या हुन्छ ।’
किसानले असारमा केरा रोप्ने गर्दछन् । वर्खा याममा केरा अभाव हुन्छ । धामी उचित मूल्य पाउन किसानको सोचमा पनि परिवर्तन आउनुपर्ने बताए । ‘हरेक किसानले असारमा केरा रोप्ने चलन छ । यसपटक मैले मङ्सिरमा केरा रोपे, यो केरा साउनमा उत्पादन हुन्छ, तर मल नपाएर समस्या भएको छ’, धामी भन्छन्, ‘वैशाखमा रोपेको केरा अहिले बजारमा गइरहेको छ ।’ धामीले केरा खेतीमा बहुबाली खेती गरिरहेका छन् । ‘केराभित्र तोरीखेती गरेर २४ क्विन्टल फल्यो, अहिले केराबारीमा खुर्खानी लटरम्म फलेको छ’, उनले भने, ‘कामदार अभावले टिप्न सकेको छैन । केरासँगै अन्य बाली लगाएर फाइदा लिन सकिन्छ ।’ धामीसँग नियमित १२ कामदारले रोजगार पाएका छन् । त्यसबाहेक अन्य याममा ज्यालादारीमा कामदार लगाउने गरिएको छ । ‘प्राकृतिक प्रकोपबाट बच्ने र बजार ग्यारेन्टी भएमा केरा जति आम्दानी अरु बालीमा छैन’, उनी भन्छन्, ‘बाली बिमामा समस्या छ । तोकिएका कम्पनी बिमा गर्न मान्दैनन् । बिमा गरेका किसानले क्षतिपूर्ति नपाएको अवस्था छ । अहिले मैले रु ५० लाखको मात्र बिमा गरेको छु । निकै अनुरोध गरेपछि थोरै बालीको बिमा भएको छ । बाली बिमामा किसानलाई सहज वातावरण बनाइदिनुपर्छ ।’
अहिले कैलालीका किसानले बारीमा प्रतिदर्जन रु ४० देखि रु ४५ मा केरा बिक्री गरिरहेका छन् । तर बजारमा रु ८० भन्दाबढीमा बिक्री हुन्छ । केरा उत्पादक किसानले पनि मूल्य पाएका छैनन् भने उपभोक्ता महँगोमा परिरहेका छन् । मूल्य बीचका बिचौलियाले पाइरहेको अवस्था छ । नेपालमै केराखेतीको उर्बर भूमिका रुपमा चिनिने टीकापुरमा केराखेती गर्न चाहने किसानले यसवर्ष भने समयमै बेर्ना पाएनन् । आयोजनाका कृषि अधिकृत आकृति ठाकुर आयोजनाले केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न थोपा सिँचाइ प्रविधि जडानमा सहयोग, बेर्नामा ५० प्रतिशत, शुक्ष्मपोषक तत्वमा ७५ प्रतिशत र प्रविधिमा सघाउने गरेको बताइन् । ‘आयोजनाले कृषिका अन्यबाली जस्तै केरा किसानलाई सघाइरहेको छ ।
बजारीकरणका लागि आवश्यक क्यारेटलगायत सामग्री उपलब्ध गराउने गरेको छ’, कृषि अधिृकत ठाकुर भन्छिन्, ‘आयोजनाको दोस्रो चरणमा दुई सय ५० हेक्टर जमिनमा केराखेती गर्न सघाएको छ । यसमा सय हेक्टर जमिनमा थोपा सिँचाइ प्रविधि जडानमा सघाएको छ ।’ आयोजनाले आयोजना क्षेत्रका छ सय ८७ किसानलाई केराखेतीका लागि सघाएको छ । आयोजनाले पहिलो चरणमा किसानलाई केराखेतीमा सघाएको थियो । आयोजनाको सहयोगपछि कैलालीको टीकापुर र जानकी क्षेत्रका सयौँ किसान केराखेतीमा आकर्षित भएका छन् ।
आयोजना प्रमुख भरत कँडेल सरकारको युवालाई कृषिमा संलग्न गराउने नीतिअनुसार आयोजनाले पनि युवा किसानलाई प्रोत्साहन गरिरहेको बताए । ‘युवा कृषिमा लाग्नु राम्रो पक्ष हो । किसान केरामा आत्मनिर्भतातर्फ गएको देखिन्छ’, उनी भन्छन्, ‘केराबाट पर्याप्त आम्दानी लिन सकिन्छ । केराका लागि कैलालीको माटो र हावापानी राम्रो छ ।’ आयोजनाको तेस्रो चरणका कार्यक्रम पनि सुरु भएका छन् । तेस्रो चरणमा केरा किसानलाई सघाउने कार्यक्रम तथा बजार विस्तारका लागि सहजीकरण गर्ने गरेको प्रमुख कँडेलको भनाइ छ ।













समाचार
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
यातायात व्यवस्था विभागले डेढ महिनामा उठायो ५ अर्ब राजस्व, ‘सवारी चालक अनुमतिपत्र’ भने प्रदेशले थाल्यो छापन
डिजिटल भुक्तानी प्रणाली सुरक्षित बनाउन भुक्तानी तथा फर्छ्यौट ऐन संशोधन प्रस्ताव
उद्योगमन्त्री भन्छिन्- सबै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ
यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ
नेपाली फूललाई विश्व बजारसम्म पुर्याउने गरी नीति तथा कार्यक्रम आवश्यक: अध्यक्ष श्रेष्ठ
कालिञ्चोक दर्शनको लाभांश घोषणा
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब माथि
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज