काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोदोजन्य खेतीको प्रवद्र्धन गर्न सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले युवा पलायनको कारण कृषि क्षेत्रमा श्रमको अभाव देखिएको उल्लेख गर्दै सरकारले कृषि खेतीतर्फ युवाहरूलाई आकर्षित गर्ने खालको नीति अपनाउन आवश्यक रहेको बताए ।
उनले कोदो र फापरबाट बनेका परिकारहरूको प्रचार–प्रसार तथा घरेलु उत्पादन प्रवद्र्धनका लागि निजी क्षेत्र तयार रहेको पनि बताए । उनले भने,‘अहिले हाम्रो गाउँतिर खेतीयोग्य जमिन बाँझो रहेको अवस्था छ । यस्तो जमिनमा हाम्रो कृषिजन्य कोदो, फापर खेती गर्नुपर्ने आवश्यकता देखिन्छ । अहिले धेरैजसो हाम्रो दाजुभाइहरू बाहिर जाने भएको कारण कृषिखेतीमा कम ध्यान पुगेको हुँदा यसलाई प्रमोट गर्नुपर्ने र सरकारले इन्करेज गर्नुपर्ने देखिन्छ । निजी क्षेत्रको तर्फबाट कोदो र फापरको प्रमोशन तथा यसबाट बनेका परिकारहरूको परिकारको समेत प्रमोशनको लागि र डोमेस्टिक उत्पादनलाई प्रमोट गर्नको लागि तपाईँहरूसँग सहकार्य गरेर अगाडि बढ्नेछ भन्ने कुरा म राख्न चाहन्छु । कोदो खेतीलाई प्रवद्र्धन गर्नको लागि यहाँहरूले गर्नुभएको संस्थागत प्रयासको म प्रशंसा पनि गर्न चाहन्छु ।’ सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न तथा उत्पादनमा वृद्धि गर्न पहिलो पटक यो वर्षदेखि कोदो दिवस मनाउन सुरु गरेको छ ।