काठमाडौं । इङ्लिस प्रिमियर लिगको नयाँ सिजन आज (अगस्ट १५) बाट सुरु हुँदैछ, जहाँ गत सिजनको विजेता लिभरपुलले उद्घाटन खेलमा बोर्नमाउथ सँग खेल्दै उपाधि रक्षाको अभियान सुरु गर्ने छ ।
अर्ने स्लटको नेतृत्वमा गत सिजन २० औँ पटकको लिग उपाधि जितेको लिभरपुल फेरि एकपटक उपाधिको प्रमुख दावेदारका रूपमा रहेको छ । तर, लगातार तीन सिजन दोस्रो स्थानमै सीमित भएको आर्सनल, पुनरागमनको प्रयासमा रहेको म्यानचेस्टर सिटी, र हालैको फिफा क्लब वल्र्ड कप विजेता चेल्सीले पनि यसपटक उपाधिका बलिया दाबेदारका रुपमा रहेका छन् ।
उपाधि रक्षा यात्रामा लिभरपुल
गत सिजन आर्सनलभन्दा १० अंकको अग्रतासहित उपाधि जितेको लिभरपुलले यो वर्षको प्रमुख दाबेदारको रुपमा हेरिएको छ । जर्मन स्टार फ्लोरियन भिट्र्जलाई १५६ मिलियन डलरमा अनुबन्धन गर्दै फ्रान्सेली स्ट्राइकर हुगो एकिटिके र डच विङ्गर जेरिमी फ्रिम्पोङलाई टिममा सामेल गरिएको छ । तर, मोहमद सालाह र भर्जिल भान डाइकको निरन्तरता कायम गर्नु नै क्लबको सबैभन्दा ठूलो उपलब्धि मानिएको छ । अफ्रिका कप अफ नेसन्सका कारण सालाह बीच सिजनमा अनुपस्थित हुने भए पनि उनको गोल क्षमता अझै पनि निर्णायक हुनेछ।
२२ वर्षको उपाधि खडेरी तोड्ने लक्ष्यमा आर्सनल
मिकेल अर्टेटाको टोलीले यसपटक स्विडेनी स्ट्राइकर भिक्टर ग्योकेरेसलाई ८५ मिलियन डलरमा ल्याउँदै आक्रमण पंक्ति मजबुत बनाएको छ । चेल्सीबाट नोनी माडुएके र रियल सोसिदाडका युरो २०२४ विजेता मार्टिन जुबिमेन्डीको आगमनले टोलीको गहिराइ र मध्य मैदान सुदृढ बनाएको छ । गत सिजन शीर्ष गोलकर्ता काइ हाभट्र्जका मात्र ९ गोल भएकाले नयाँ स्ट्राइकरको आगमन आर्सनलका लागि निर्णायक बन्न सक्नेछ ।
क्लब वल्र्ड कपको जोशले हौसीएको चेल्सी
फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेनलाई हराउँदै फिफा क्लब वल्र्ड कप जितेको चेल्सीले पनि यो नयाँ सिजनमा उपाधिको दावेदारका रुपमा रहेको छ । चेल्सीको युवा टोलिले उस्तै प्रदर्शन गरेको खण्डमा उसले उपाधि उचाल्नेमा कुनै शंका छैन् । चेल्सीले ब्राइटनबाट ल्याइएका जोआओ पेड्रोको प्रदर्शनले पहिल्यै साइनिङलाई उचित सावित गरेको छ, भने लियम डेलाप र ब्राजिलियन स्ट्राइकर एस्टेभाओको समावेशले आक्रमणमा विकल्प थपिएको छ । तर, २०१७ यता लिग उपाधि नजितेको चेल्सीले लामो दूरीको स्थिरता कायम राख्न सक्ने हो कि भन्ने प्रश्न भने बाँकी छ ।
पुनरागमनको खोजीरहेको म्यान सिटी
गत सिजन ९ खेलमा हार बेहोरेर शीर्ष दुईबाहिर पुगेको पेप गार्डियोलाको टोलीका लागि यो वर्ष ‘पुनरागमन’को सिजन हुनेछ । केभिन डि ब्रुइनको प्रस्थान र रोड्रीको चोटले सुरुवाती चरणमा कठिनाइ ल्याउनेछ । यसपटक ३०० मिलियन पाउन्डभन्दा बढी खर्च गर्दै सिटीले टिज्जानी रेजेन्डर्स, रायन एइट–नौरी, रायन चेर्की, जेम्स ट्राफोर्ड लगायतलाई अनुबन्धन गरेको छ । तर, प्रिमियर लिगको वित्तीय नियम उल्लङ्घन गरेको आरोपमा क्लबमाथि रहेका ११५ मुद्दाको टुंगो अक्टोबरमा लाग्ने अपेक्षा छ ।
म्यानचेस्टर युनाइटेडको आश
प्रिमियर लिगको सबै भन्दा बढी उपाधि जित्ने टोलि मध्येको एक हो म्यानचेस्टर युनाइटेड । यो टोलिले आफ्नो इतिहासमा २० पटक लिगको उपाधि उचालेको छ । तर पछिल्लो समय भने निकै कमजोर प्रदर्शन गरिरहेको युनाइटेडले यो पटक कस्तो खेल्छ त्यो भने हेर्न बाँक रहेको छ । क्बले वित्तीय चुनौतीका बीचमा पनि बेन्जामिन सेस्को, माथियस कुञ्हा र ब्रायन म्बेयूमोको आगमनसँग आक्रमण पंक्ति पुनर्निर्माण गरेको छ ।