
काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत रहेको ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन समयमा निर्माण गरिएको एउटा ऐतिहासिक घण्ट अवस्थित छ । विसं २०७२ को भूकम्पले क्षति पुर्याएको घण्टलाई पुनर्निर्माण नगरिएकाले हाल जीर्ण बन्दै गइरहेको र हाल बजाउनसमेत बन्द गरिएको छ ।
काठमाडौं उपत्यकाका दरबार स्क्वायरमा रहेका घण्टमध्ये पाटन दरबार स्क्वायरको यो घण्ट अरूभन्दा ठूलो मानिन्छ । स्थानीयका अनुसार भूकम्पले क्षति पु¥याएपछि यो पूर्वतिर ढल्किएको अवस्थामा छ । जीर्ण अवस्थामा अडिएको यो घण्ट जुनसुकै बेला ढल्न सक्ने स्थिति छ । ऐतिहासिक घण्ट जीर्ण अवस्थामा रहेकाले पुनर्निर्माणको माग गर्दै पुरातत्व विभाग र युनेस्कोलाई पत्र बुझाएको पाटन दरबार स्क्वायर टोल सुधार समितिका अध्यक्ष किरणमान प्रधान बताउँछन् ।
उनी भन्छन्, ‘हामीले पुनर्निर्माणका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छौँ । अझै कुनै पहल भएको छैन ।’
मल्लकालीन समयमा स्थापना गरिएको उक्त घण्ट १७६९ सालमा निर्माण गरिएको मानिन्छ । विसं २०७२ को भूकम्पका समयमा यो घण्ट नबजेको स्थानीय उपेन्द्रकुमार श्रेष्ठ बताउँछन् । विशेषतः हरेक वर्षको दसैँको जमरा राख्ने दिनदेखि दसैँका दिनसम्म यस घण्टा बजाएर पूजाआजा गर्ने गरिन्छ । उनका अनुसार राणाकालीन समयमा पाटन सहरका सबै मानिस सुत्नुपर्छ भन्ने मान्यताअनुसार राति १२ः०० बजे यो घण्ट बजाइन्थ्यो । राति १२ः०० घण्ट बजेपछि कोही पनि बाहिर निस्कन हुन्नथ्यो । अनि बिहान ४ः०० बजे फेरि घण्ट बजाइन्थ्यो, त्यसपछि सबैजना उठेर आ–आफ्नो काममा लाग्थे ।
घण्टको जगसँगै सटाएर व्यवसाय सञ्चालन गरेका एक स्थानीय व्यवसायीका अनुसार उनका हजुरबुबा १९५८ सालदेखि सो स्थानमा पसल सञ्चालन गर्दै आएका थिए । उनी भन्छन्, ‘एक शताब्दीअघिदेखि व्यवसाय सञ्चालन गर्दै आएका छौँ । यो घण्ट भूकम्पका कारण जीर्ण अवस्थामा पुगेको छ । पाटन दरबारका सबै जीर्ण सम्पदा महानगर र पुरातत्व विभागले पुनर्निर्माण गरिसकेको छ ।’
ऐतिहासिक घण्टको जगमा सटाएर कोठा निकालेर स्थानीयले पुस्तौँदेखि व्यापारिक प्रयोजनका लागि प्रयोग गर्दै आएका छन् । ती पसल नहटाइएसम्म ऐतिहासिक घण्टको पुनर्निर्माण सम्भव छैन । यसको संरक्षणका लागि ललितपुर महानगरपालिका, पुरातत्व विभागलगायत सम्बन्धित निकायको ध्यान नपुगेको स्थानीयको गुनासो छ । गुठी संस्थान ललितपुरका कार्यालय प्रमुख जितेन्द्र चित्रकारका अनुसार पाटन दरबार क्षेत्रमा केही स्थानीयले पुस्तौँदेखि व्यापार सञ्चालन गर्दै आएका छन् । उनी भन्छन्, ‘व्यापारीले पुस्तौँदेखि व्यापार गर्दै आएको कारण सम्झौताअनुसार हामीलाई व्यापार गर्न पाउनुपर्छ भन्छन् । व्यापारिक प्रयोजनका लागि बनाइएका भवन नहटाइएसम्म ऐतिहासिक घण्ट पुनर्निर्माण गर्न सम्भव छैन ।’
पुस्तौँदेखि दरबार क्षेत्रमा व्यापार गर्दै आएका व्यापारीलाई प्रमाणसहित आउन गुठी संस्थान कार्यालयले पत्रचार गरेको समेत उनी बताउँछन् । कार्यालय प्रमुख चित्रकार भन्छन्, ‘उहाँहरू प्रमाणसहित आउनुभयो भने समस्याको समाधान गछौँ, किनकि सम्पदा हामी सबैको साझा सम्पत्ति हो, यसको संरक्षण गर्नु हाम्रो दायित्व हो ।’













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह