
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ का माझी महिलाहरू गलैँचा बुनेर आम्दानी गर्न थालेका छन्। ती मध्येकी एक हुन्, पविना माझी। उनी लामो समयसम्म माछा मार्ने र हिउँदभरि खोलामा बालुवा चालेर जीविकोपार्जन गरिरहेकी थिइन्। पछिल्लो दुई वर्षयता भने गलैँचा बुन्न थालेपछि जीवनयापनमा निकै सहज भएको माझीले बताइन्।
पविनाजस्तै यहाँका धेरैजसो माझी समुदायका महिलाहरूले गलैँचा बुन्ने सीपबाट आम्दानी गरिरहेका छन्। पुर्ख्यौली पेसा खोलामा माछा मार्ने, बालुवा चाल्ने कामले घरायसी जिम्मेवारी चलाउन, छोराछोरीलाई पढाउन र आधारभूत आवश्यकता पूरा गर्न पनि धौधौ हुन्थ्यो, तर गलैँचा बुन्ने सीप सिकेपछि जीवनयापनमा सहज भएको स्थानीय सोममाया माझीले बताइन्।
खेतीपाती र घरायसी काम सकेर बिहान र बेलुकीको समयमा गलैँचा बुन्दा महिनामा कम्तीमा रु १० हजार कमाई हुने गरेको उनले सुनाइन्। वडाध्यक्ष रोशन गिरीले यहाँका ६० घरपरिवारलाई वडा कार्यालयले निःशुल्क वितरण गरेको तानबाट गलैँचा बुन्ने काम भइरहेको बताए। उनले यसरी बुनिएका गलैँचा राजधानी काठमाडौँ लगेर बिक्री गर्ने र कच्चापदार्थ पनि सोही ठाउँबाट आउने व्यवस्था मिलाइएको जानकारी दिए।
‘हाल यहाँका २० वर्षदेखि ५० वर्ष उमेर पुगेकाहरू पनि गलैँचा बुन्नमा व्यस्त हुन्छन्। महिलाहरूलाई पुरुष सदस्यले पनि साथ दिन थालेका छन्। यसले आम्दानीको आधार बनेको छ,’ वडाध्यक्ष गिरीले भने, ‘महिलाको सीप विकास र क्षमता अभिवृद्धि गरेरै उनीहरूलाई उद्यमी बन्न प्रेरित गरिरहेका छौँ। यो वर्ष थप ४० थान तान वितरण गरिएको छ। यसलाई निरन्तरता दिन्छौँ।’ माझी समुदायका महिलाहरुले गलैँचा बुनेर पैसा कमाउन थाले पनि भीमटारका अन्य समुदायका महिलाले पनि गलैँचा बुन्न सिक्न थालेका छन्। यसले बिस्तारै महिला आर्थिक उन्नति गर्दै आत्मनिर्भर बन्न थालेका छन्।
नगरप्रमुख कृष्णप्रसाद सापकोटाले नगरपालिकाले समृद्ध नगर निर्माणका लागि पर्यटन, कृषिसँगै स्थानीय उत्पादन र सीपलाई विशेष जोड दिएको बताए। युवा, महिला, पिछडिएको वर्गलाई लक्षित गर्दै विभिन्न सीपमूलक कार्यक्रम गर्दै रोजगार सिर्जनाको प्रयास भइरहेको उनको भनाइ छ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह