काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रि आईपीओ नाम दिई सर्वसाधारणलाई सेयर बिक्री नगर्न, नगराउन आग्रह गरेको छ । बोर्डबाट अनुमति प्राप्त नगरी सार्वजनिक रुपमा संगठित संस्थाको सेयर खरिद बिक्री सम्बन्धी कार्य नगर्न नगराउन सूचित गरेको छ । यसरी धितोपत्र सम्बन्धी ऐन, २०६३ ले गरेको व्यवस्था विपरितका यस्ता कार्यहरु दण्डनीय भएकोले यस्ता क्रियाकलापमा संलग्न नहुन सबैलाई अनुरोध गरेको छ ।
सार्वजनिक निष्काशन नभएका विभिन्न संगठित संस्थाहरुको सेयर प्रि आईपीओको नाममा सामाजिक संजाल (ह्वाटस एप, फेसबुक ग्रुप, भाइबर तथा एसएमएस मार्फत प्रचार गरी अनाधिकृत रुपमा पैसा उठाइरहेकोले उक्त कार्य तत्काल रोक्न लगानीकर्ताहरुबाट बोर्डमा गुनासो प्राप्त भएको सन्दर्भमा यस विषयमा बोर्डको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
कम्पनीले निकट भविष्यमा आईपीओ निष्कासन गर्ने भन्दै सर्वसाधारणलाई सेयर खरिद गर्न प्रस्ताव गर्ने गरेको जनाएको छ । प्रचलित कानूनमा प्रि आईपीओ सम्बन्धी कुनै व्यवस्था नरहेको जनाएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २९ को उपदफा (१) मा संगठित संस्थाले एक पटकमा ५० जना भन्दा बढी व्यक्तिहरुलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नु पर्नेछ भन्ने व्यवस्था रहेको स्मरण गराएको छ ।