भोजपुरमा सुन्तलामा फल झर्ने रोग

भोजपुर । सुन्तलाको फल खस्ने रोग देखिएपछि किसान समस्या परेका छन्। सुन्तलाका दानाका भेट्नो कुहिएर झर्न थालेसँगै व्यावसायिक सुन्तलाखेतीमा लागेका किसान समस्यामा परेका हुन्। सुन्तलाको फल झर्ने समस्याले किसानलाई चिन्तित बनाएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान डम्बर बस्नेतले जानकारी दिए।

सुन्तलामा विभिन्न खालका रोग देखिएपछि किसान समस्यामा परेको उनको भनाइ छ। ‘सुन्तलामा पछिल्लो समय फल झर्ने समस्या देखिएको छ’, उनले भने,‘भेट्नो कुहिएर फल झरिरहेको छ,सुन्तलाको फल झर्ने रोगले चिन्तित बनाएको छ।’
गुप्तेश्वरका तमना, रबे, सिमलबोटे, बलौटे, वाछलालगायत ठाउँका करिब ३०० किसानले सुन्तलाखेती गर्दै आएको उनले जानकारी दिए। सुन्तलामा रोग देखिएपछि किसान उपचारको खोजीमा रहेको उनको भनाइ छ।

सुन्तलामा फल झर्ने, हाँगा सुक्ने, ढुसी लाग्ने, पात बेरिने समस्या देखिएको स्थानीय किसान शारदा थापाले बताइन्। फल झर्ने रोगले कतिपय बोट खाली नै भइसकेको उनले बताइन्। गत वर्ष रु १० लाखको सुन्तला बेचेको भए पनि यस वर्ष रोगका कारण उत्पादन घट्ने चिन्ता बढेको उनको भनाइ छ। ‘फल झर्ने रोगले बगान नै खाली हुने अवस्था छ’, उनले भनिन्, ‘गत वर्ष रु १० लाखको सुन्तला बिक्री गरेकी थिए, फल झरेका कारण यस वर्ष उत्पादन घट्ने चिन्तामा छु।’

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार