सिटी होटलको ८० प्रतिशत हकप्रद सेयर निष्काशन

काठमाडौं । सिटी होटल लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले कायम चुक्ता पुँजीको ८० प्रतिशत बराबर अर्थात १० कित्ता सेयरमा ८ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो।

यस योजनाअन्तर्गत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता सेयर जारी गर्नेछ। यसरी जुट्ने रकम १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ रहनेछ। कम्पनीले यसअघि साउन २७ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ सेयरधनी रहेका लगानीकर्ताले मात्रै आवेदन दिन पाउनेछन्। हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति असोज १२ गते तोकिएको छ।

हकप्रद सेयर निष्काशनको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटलसँगै प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट समेत आवेदन दिन सक्नेछन्। साथै, सी–आस्बा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी वा ‘मेरो सेयर’ अनलाइन प्लेटफर्ममार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

हाल सिटी होटल लिमिटेडको चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ। हकप्रद सेयर बिक्री र बाँडफाँट सम्पन्न भएपछि कम्पनीको चुक्ता पूँजी बढेर ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार