
म्याग्दी । सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौं (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ ।
पर्यटन विभागका अनुसार धवलागिरि आरोहणको अनुमति लिएकाबाट ५० लाख ७१ हजार सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ । शरदयाममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले प्रतिआरोही नौ सय डलर सलामी दस्तुर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ ।
विभागले पछिल्लोपटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार गोरखामा रहेको (आठ हजार १६३ मिटर अग्लो) मनास्लु हिमाल आरोहणका लागि तीन सय ७४ जनाले अनुमति लिएका छन् । शरदयामका आरोहीहरूको रोजाइमा मनास्लु हिमाल पर्ने गरेको छ । आरोहण अनुमति लिनेको सङ्ख्यामा धवलागिरि दोस्रो स्थानमा रहेको छ । आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहेका धवलागिरि–४ का वडासदस्य हरिप्रसाद तिलिजाले बताए ।
यसपालि आरोहण टोली मुस्ताङको मार्फादेखि याकखर्क हुँदै आधार शिविरतर्फ गएका छन् । धवलागिरि गाउँपालिकाको मुदी बगर हुँदै जाने पदमार्ग बिग्रिएको, घुमाउरो र टाढा पर्ने भएकाले मुस्ताङको पदमार्ग प्रयोग गरेर गएका हुन् ।
गत वसन्तयाममा दुई समूहका १५ जनाले आरोहण अनुमति लिएबापत रु ३६ लाख ९१ हजार राजस्व सङ्कलन भएको थियो । सन् २०२४ को शरदयाममा एउटा समूहका १४ पुरुष पर्वतारोहीले आरोहणको अनुमति लिएकामा रुसका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो ।
छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणका लागि चुनौती बन्ने गर्छ । अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरि हिमालको सफल आरोहण गरेका थिए । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए ।













समाचार
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा
गृह र ऊर्जामन्त्री पुगे मौसम विभाग, वर्षा र हिमपातबारे चासो
संयुक्त राष्ट्रसङ्घको महासभामा ट्रम्पले युद्ध र शान्ति प्रयासबारे धारणा राख्ने
सेयर बजारमा सामान्य अंकको वृद्धि, कारोबार ७ अर्ब माथि
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा