कञ्चनपुर । तिहार नजिकिँएसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ का रेशम वादीको मादल बनाउने काममा व्यस्तता बढेको छ । अन्य समयमा घरेलु जुत्ता उद्योग सञ्चालन गरेर जीविकोपार्जन गर्ने उनले दसैँ, तिहारको समयमा मादल बनाउने गर्छन् । नेपाली सांस्कृतिक चाडपर्वमा विशेष स्थान ओगटेको मादल देउसीभैलो, नाचगान र सांस्कृतिक कार्यक्रमको प्रमुख बाजा भएकाले तिहार नजिकिँदै गर्दा मादलको माग बढेको वादीले बताए ।
तिहारमा मादल बिक्रीबाट ४० हजारसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । केही वर्षअघिसम्म तीजमा पनि मादलको माग बढी आउने गरेको भए पनि पछिल्लो समय आधुनिक प्रविधिको बढ्दो प्रयोगले तीजमा मादल बिक्री हुन छोडेको वादीले बताए ।
कच्चा पदार्थ नपाउँदा समस्या
वाद्यवादनका सामग्री बनाउनु वादी समुदायको पुख्र्यौली पेसा हो । पछिल्लो समय वाद्यवादनका सामग्री बनाउन कच्चापदार्थ पाउन कठिन भएपछि पेसा नै सङ्कटमा पर्न थालेको दोधारा चाँदनी–३ का वादीले जानकारी दिए । मादलमा बाख्राको छालाको प्रयोग हुने बताउँदै भारतीय छिमेकी सहरमा छाला पाइने भए पनि नाकामा सुरक्षाकर्मीले ल्याउन रोक लगाउने गरेकाले समस्या हुने वादीको अनुभव छ । छाला र खमारी सहज रूपमा नपाइने भएकाले पछिल्लो समय नयाँ मादल बनाउनेभन्दा पनि मादल मर्मतका लागि आउने सेवाग्राही बढी हुने गरेको उनले बताए ।
उनका अनुसार भारतीय बजारमा एउटा छालाको रु एक हजारसम्ममा खरिद गर्न पाइन्छ । वादी समुदायको मुख्य पेसा मादल, ढोलक र दामाहा बनाएर बिक्रीवितरण गर्नु हो । विभिन्न पर्वमा नाचगान गरेर जीविकोपार्जन गर्ने यो समुदायले बढ्दो आधुनिकतासँगै पुख्र्यौली पेसा सङ्कटमा पर्दै गएको बताउँछन् ।