दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको ठाडो प्रस्तावमा कार्की कात्तिक २७ गतेदेखि लागु हुने गरी महानिरीक्षक नियुक्त भएका हुन् ।

उनी महानिरीक्षक नियुक्तिका पहिलो दाबेदार थिए । २०५४ चैत १८ मा नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जामा भर्ना भएका कार्की २०२९ साउन १५ मा गुल्मीमा जन्मिएका हुन् ।

उपत्यका प्रहरी कार्यालयको प्रमुखका रूपमा कार्यरत कार्की जेनजी आन्दोलनको बहानामा महानिरीक्षक नियुक्त नहुने भनी चर्चामा थिए । तर, सरकारले पहिलो नम्बरको उनको वरीयतामाथि न्याय गर्दै नियुक्त गर्ने निर्णय गरेको छ ।

कार्कीले प्रहरी सेवाका क्रममा लुम्बिनी प्रदेश, काठमाडौं उपत्यकासहित काठमाडौं, कास्की र कपिलवस्तु जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् । उनले इन्स्पेक्टर दर्जामा इलाका प्रहरी कार्यालय काकडभित्ता, झापा र तनहुँको आबुखैरेनीमा कार्यालय प्रमुखको जिम्मेवारी निभाएका थिए ।

डीएसपी दर्जामा इलाका प्रहरी कार्यालय, बुटवल र काठमाडौंस्थित प्रहरी वृत्त, नयाँ बानेश्वरको जिम्मेवारी बहन गरे । उपत्यका प्रहरी प्रमुखको जिम्मेवारीमा जानुअघि प्रधान कार्यालयस्थित मानव स्रोत विकास विभागका प्रमुख थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार