काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले बताए ।
भण्डारीले मधेश प्रदेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई बर्दिबासको पानस होटलबाटै मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । त्यससँगै शपतथ कार्यक्रम पनि उक्त होटलमै राखिएको थियो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित सात दलले ७४ जना सांसद जुटाएर सरकारमा दाबी गर्न लागेका बेला रातारात सबैभन्दा ठूलो एमाले यादवलाई मुख्यमन्त्री बनाएपछि भण्डारी विवादमा परेकी थिइन् ।
भण्डारीको उक्त निर्णयका कारण मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयसहित मन्त्रालयहरूमा व्यापक तोडफोड भएको छ। यादवलाई मुख्यमन्त्री बनाउने निर्णयविरुद्ध कांग्रेससहितका सात दलले सर्वोच्च अदालतमा रिट हाल्दैछन् । भण्डारी आइतबार राति उपचार गराउने भन्दै काठमाडौं हिँडेकी थिइन् । तर उनले बाटैको होटलमा उक्त हर्कत गरेपछि संघीयताकै बदनाम गरेको भन्दै चर्को आलोचना भइरहँदा अन्तरिम सरकारले उनलाई नै बर्खास्त गरिदिएको हो ।