‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

पर्वत । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै तरकारी उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित पर्वतको विहादी गाउँपालिका ‘हाइटेक टनेल’खेती विस्तार अभियानमा जुटेको छ । कृषकलाई व्यावसायिक बनाउनका लागि गाउँपालिकाले ८० प्रतिशत अनुदानमा हाइटेक टनेल (आधुनिक प्रविधिबाट बेमौसमी तरकारीखेती गर्न बनाइएको संरचना) निर्माणका लागि सहकारी संस्था, कृषक समूह तथा व्यावसायिक कृषक फार्मबाट प्रस्ताव आह्वान गरेको छ ।

स्थानीय किसानलाई प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाले चालू आर्थिक वर्षमा हाइटेक टनेल निर्माण कार्यक्रम सञ्चालन गर्न रु दुई करोड २५ लाख विनियोजन गरेको छ । गाउँपालिकाको कृषि शाखाका अनुसार यो कार्यक्रमले उत्पादनमा विविधता ल्याउने, बेमौसमी सब्जी खेतीलाई निरन्तरता दिने र युवालाई कृषिमा पुनः आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

“हामीले यस कार्यक्रममार्फत कृषकलाई प्रविधिको पहुँचमा ल्याउँदै दिगो आम्दानीको बाटो खोल्ने प्रयास गरेका हौँ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनबहादुर रेश्मीले भने । उनका अनुसार टनेल खेतीले परम्परागत प्रणालीभन्दा कम लागतमा बढी उत्पादन लिन सकिने भएकाले यसले कृषि क्षेत्रलाई नयाँ आयाम दिनेछ । विहादीका अधिकांश किसानले विगत केही वर्षयता सानासाना टनेल प्रयोग गरेर प्रशस्त उत्पादन गरेका छन् । प्रविधिको पहुँच, पुँजी र संरचनाको अभावले हाइटेक टनेल खेती विस्तार गर्न नसकिएको स्थानीय किसानको भनाइ छ ।

गाउँपालिकाले यही आवश्यकता महसुस गर्दै सहकारी, समूह र फार्मलाई सहभागी गराएर सामूहिक रूपमा आधुनिक टनेल निर्माण गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले जानकारी दिए । “छ वटा वडा रहेको विहादीमा मौसमी तथा बेमौसमी तरकारी उत्पादनका लागि प्रशस्त सम्भावना रहेको छ । यहाँका सयौँ कृषक व्यावसायिक कृषिमा लागेका छन् । सडकको राम्रो पहुँच विस्तार भएसँगै बजारको समस्या छैन”, उनले भने । कार्यक्रमअन्तर्गत सहभागी हुन चाहने कृषक, समूह वा सहकारीले सूचना प्रकाशित मितिदेखि १५ दिनभित्र आवश्यक कागजातसहित प्रस्ताव पेस गर्नुपर्ने अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार विशेषगरी हाइटेक टनेल खेतीमा सक्रिय कृषक समूहलाई प्राथमिकता दिइने छ ।

यो कार्यक्रम सफल भएमा विहादी गाउँपालिकालाई ‘हाइटेक कृषि क्षेत्र’ का रूपमा चिनाउने पालिकाको कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताउनुभयो । स्थानीय उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था सिर्जना गर्ने र गाउँमै रोजगारीका अवसर बढाउने अपेक्षा गरिएको उनको भनाइ छ । कृषि क्षेत्रलाई जोड दिँदै आएको विहादीले यसअघि पनि टनेल विस्तार अभियान थालेको थियो । टनेलसँगै मल्चिङ प्लाष्टिक, सिकेचर, स्प्रे तथा बीउबिजनमा अनुदान दिँदै आएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार