
बागलुङ । यहाँस्थित बागलुङ नगरपालिका–३ खहरेका भीमबहादुर विश्वकर्मा विगत तीन वर्षदेखि कालिका मन्दिर क्षेत्र कलात्मक बनाउनमा व्यस्त छन् । मन्दिर पुनः निर्माण गर्ने, स–साना मठलाई ताम्रापत्रले छाउने र पुनः निर्माणमा उनलाई भ्याइनभ्याइ छ । कालिका मन्दिर वरपर रहेको सत्तल, सचिवालयसहितका स–साना संरचना, मन्दिर तथा मठका झ्याल, तोरण, टुँडाल र ढोकामा बुट्टा भर्दै भीमबहादुरको तीन वर्ष बितेको हो ।
“कालिका मन्दिरमा तीन वर्ष पहिला हवन कुण्डलाई कलात्मक बनाउन आएको थिएँ, त्यस यता क्रमशः गणेश मन्दिर, सत्तल, सचिवालयका झ्याल तथा ढोकालाई कलात्मक बनाएँ, मन्दिर परिसरमा अकलादेवीको मन्दिर पुनः निर्माण सकेर अहिले चण्डीदेवीको मन्दिरमा प्रयोग आउने काठका सामग्री बनाउँदै छु”, विश्वकर्माले भने, “तीन वर्षमा कालिका मन्दिर क्षेत्रका छ वटा मठमन्दिर तथा अन्य भौतिक संरचनामा काठबाट कुँदेका सामग्री राखेर निर्माण गरिएको छ ।”
काष्ठकलामा पोख्त उनी नेपाली सभ्यता र संस्कृति झल्काउने सीपले चर्चित छन् । पछिल्लो समय काष्ठकलाप्रति युवाको आकर्षण घट्दै गएको बेला उनी जस्ता सीपका धनी पाउनै गाह्रो छ । खर्च र समय बढी लाग्ने भएकाले पछिल्लो पुस्ताले काठबाट निर्मित टुँडाल, झ्याल र ढोकाको प्रयोग गर्न छाडेको उनी बताउँछन् । ६३ वर्षीय विश्वकर्माको जीवन नै काष्ठकलामै बित्यो । आफ्नो सात पुस्तादेखि मुख्य पेसा काष्ठकला रहेको उनको भनाइ छ । बुवा मोतिलालले विभिन्न मन्दिरको टुँडाल तथा भगवानका आकृति बनाएको देखेरै १५ वर्षको उमेरदेखि उनी काष्ठकलातर्फ आकिर्षत भएको बताउँछन् ।
तामाले छाना छाउने सिप समेत उनमा छ । उनले काठलाई विभिन्न घरेलु औजारले महिनौँ कुँदेर विभिन्न आकृतिमा निर्माण गर्दै आएका आएका छन् । “सात पुस्ता काष्ठकलामै समर्पित भयो, बुवासँग २०४८ सालमा कालिका मन्दिरको गजुर मिलाउने, झ्याल तथा ढोका कुँद्ने काम गरेको थिएँ, अहिले बुवाले बनाएकै आँखीझ्याल तथा टुँडाल कालिका मन्दिरमा छन्, बुवा बित्नु भएकै २३ वर्ष बित्यो”, उनले भने।
विश्वकर्माका पुर्खाले बागलुङ, गुल्मी, पर्वत, म्याग्दीलगायत ठाउँमा दरबार, मठ–मन्दिरलगायतमा काष्ठकलाको काम गरेका छन् । पछिल्लो समय काष्ठकलामा कृत्रिम र विद्युतीय उपकरण प्रयोग गरिन्छ । तर, घरेलु हतियारले निर्माण गरेको काठको छुट्टै महत्त्व रहेको उनी बताउँछन् ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह