एनपिएल क्रिकेट : काठमान्डु गोर्खाजको दोस्रो जित, लुम्बिनी २२ रनले पराजित 

काठमाडौं । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदामा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो ।

चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग लगातार पराजित भएको थियो । लुम्बिनीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो । काठमान्डुले दिएको १५९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर १३५ रनमै अलआउट भयो । लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ र दिलीप नाथले २५ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन । बलिङमा काठमान्डुका मिलिन्द कुमार र जेरार्ड एरासमसले दुई÷दुई तथा कप्तान करण केसी, शाहब आलम, सन्तोष यादव र रासिद खानले समान विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डूका लागि कप्तान करण केसी ३४ रनको पारी खेले । उनले ११ बलमा एक चौका र चार छक्का प्रहार गरे ।  ओपनर आकाश त्रिपाठीले ३२ रन बनाए । त्यस्तै सन्तोष यादवले २६ रन बनाउँदा मिलिन्द कुमार र जेरहार्ड इरसमस समान १७ रन बनाए ।  लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यान, शेर मल्ल, रोहित पौडेल र गुल्बदिन नैवले दुई–दुई विकेट लिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार