
बाँके । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै गएपछि बर्सेनि उत्पादन घट्दो क्रममा छ । तेलहन बालीअन्तर्गत जसोतसो तोरीखेती गरे पनि अन्य खेतीको क्षेत्रफल घट्दै जाँदा त्यसको प्रत्यक्ष असर उत्पादनमा पर्दै गएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष पाठकले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा बाँकेमा छ हजार ५३० हेक्टर क्षेत्रफलमा गरिएको तोरीखेतीबाट पाँच हजार ६४८ मेट्रिक टन उत्पादन भएको थियो । यो उत्पादन अघिल्लो आवको तुलनामा १४ दशमलव ४१ प्रतिशत कमी हो ।
बाँकेमा तेलहन बाली कुल सात हजार २५६ हेक्टरमा हुँदै आएको छ । तोरीबाहेक सर्सो, रायो, सूर्यमुखी, तिल, बदाम र आलसखेती गरिने भए पनि क्षेत्रफल र उत्पादन अत्यन्त न्यून छ । किसानले खेती गर्ने क्षेत्रफल घट्दै गएर हाल सर्सो ३५ हेक्टर, रायो १५ हेक्टर, सूर्यमुखी एक हेक्टर, तिल १५ हेक्टर, बदाम ६१५ हेक्टर र आलस ४५ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको सूचना अधिकारी पाठकले जानकारी दिए । उनले हिउँदे वर्षा नहुनु र बीउ प्रतिस्थापन दर न्यून हुँदा तोरीखेतीको उत्पादन घट्दै गएको उल्लेख गर्दै किसान तोरीबाहेक अन्य तेलहन बालीतर्फ आकर्षित हुन नसकेको बताए ।
नेपालगन्ज–२२ का अगुवा किसान चक्र बुढाले उत्पादनको यो निरन्तर गिरावटलाई रोक्न किसानलाई बढी उत्पादन दिने र तेलको मात्रा राम्रो हुने उन्नत जातका बीउ उपलब्ध गराउनु, सिँचाइको व्यवस्थापनमा सुधार ल्याउनु र अन्य तेलहन बालीको महत्वबारे सचेत गराउनु आवश्यक रहेको बताए ।
तेलहन बालीको उत्पादनमा आएको यो गिरावटले गर्दा तेलको आयातमा निर्भरता बढ्ने र स्थानीय बजारमा तेलको मूल्यमा असर पर्ने भएकाले बाँकेमा तेलहन बालीको खेतीलाई प्रोत्साहन गर्न स्थानीय र प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने र किसानलाई आवश्यक प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।













समाचार
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर