
भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–४ चखेवामा सशस्त्र प्रहरी बल नेपालको अस्थायी वेश क्याम्प पुनः स्थापना गरिएको छ । स्थानीय तह र नागरिकको निरन्तर पहल तथा मागपछि पुनः अस्थायी वेश क्याम्प स्थापना गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर–५ गुल्म (भोजपुर) अन्तर्गतको उक्त क्याम्प गत भदौ महिनादेखि हटाइएको थियो । जेनजी आन्दोलनपश्चात् गत भदौ महिनामा चखेवा क्षेत्रमा रहेको सशस्त्र प्रहरीको वेश क्याम्प हटाइएपछि सुरक्षा संवेदनशील मानिने चखेवा तथा मुन्दुम पदमार्ग आसपासको क्षेत्रमा स्थानीयवासीले सुरक्षा चुनौती महसुस गर्दै आएका थिए । सशस्त्र प्रहरी बल–५ गुल्म भोजपुरका प्रमुख दिव्यराज कोइरालाले यसअघि सङ्गठनको निर्णयअनुसार क्याम्प जिल्लामा गाभिएको भए पनि वर्तमान सुरक्षा अवस्थालाई ध्यानमा राख्दै पुनः स्थापना गरिएको जानकारी दिए ।
उनले सीमा सुरक्षासँगै स्थानीय नागरिकको जिउधनको सुरक्षा तथा शान्ति सुव्यवस्था कायम गर्न सशस्त्र प्रहरीको उपस्थिति अपरिहार्य रहेको बताए । पुस १९ गतेदेखि क्याम्प पूर्ण रूपमा सञ्चालनमा आउने उनले जानकारी दिए ।
मुन्दुम पदमार्गसँगै भोजपुर र खोटाङ जिल्लाको सीमा क्षेत्रसमेत पर्ने भएकाले सुरक्षा सुनिश्चित गर्न क्याम्प पुनः स्थापना गरिएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । जिल्लादेखि केन्द्रसम्म निरन्तर समन्वय र पहलपछि क्याम्प पुनः स्थापना गर्न सफल भएको उनको भनाइ छ । विगतमा स्थानीयस्तरमै पाँच रोपनी जग्गा उपलब्ध गराएर क्याम्प स्थापना गरिएको जानकारी दिए ।
“चखेवामा पुनः सशस्त्र प्रहरीको वेश क्याम्प स्थापना भएको छ,” अध्यक्ष बस्नेतले भने, “विगतदेखि सञ्चालनमा रहेको क्याम्प हटेपछि पुनः स्थापना गर्न निकै मेहनत गर्नुपर्यो । जिल्लादेखि केन्द्रसम्म समन्वय गरेर यहाँको सुरक्षा संरचना पुनः स्थापित गर्न सफल भएका छौँ ।”
क्याम्प पुनः सञ्चालनमा आएपछि चोरी तथा अवैध गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन र पर्यटकको सुरक्षामा टेवा पुग्ने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन् । अस्थायी वेश क्याम्प स्थापनासँगै चखेवा तथा आसपासका बासिन्दाले राहत महसुस गरेका छन् । गाउँपालिका उपाध्यक्ष रमादेवी राईले क्याम्प पुनः स्थापनाले गाउँपालिकाको समग्र सुरक्षा प्रणालीलाई थप मजबुत बनाउने बताइन् । चखेवा पर्यटकीय क्षेत्र रहेकाले यहाँ सुरक्षाको उपस्थित अपरिहार्य रहेको उनको भनाइ छ ।













समाचार
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो