सम्पत्ति शुद्धीकरण निवारणमा साझा प्रतिबद्धता आवश्यकः गभर्नर पौडेल

काठमाडौं । ‘Contemporary Issues Pertaining to Anti Money Laundering and Combating the Financing of Terrorism (AML/CFT)’  ( सम्पत्ति शुद्धीकरण विरोधी र आतंकवादको वित्तपोषण विरुद्ध लड्ने समसामयिक मुद्दाहरू) विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । नेपाल राष्ट्र बैंक, सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखाद्वारा उक्त सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले नेपाल फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ)को ‘ग्रे–लिस्ट’मा परेको अहिलेको समयमा सम्पत्ति शुद्धीकरण निवारणका आन्तरिक संयन्त्रलाई थप सुदृढ र सबलीकरण गर्नुपर्ने विचार व्यक्त गरेका छन् । उनले भने, “ग्रे–लिस्टमा पर्नु चुनौती भए पनि आन्तरिक संयन्त्रलाई सुदृढ, पारदर्शी र विश्वव्यापी मापदण्डसँग एकाकार गर्नुपर्ने दिशामा यसले हामीलाई महत्वपूर्ण पाठ सिकाएको छ ।”

राज्यका जिम्मेवार निकायको साझा प्रतिबद्धता र सहकार्यबाट मात्रै सम्पत्ति शुद्धीकरण र अन्य वित्तीय अपराधको नियन्त्रणमा सहयोग पुग्ने धारणा गभर्नर पौडेलले राख्नुभयो । “वित्तीय अपराधविरुद्धको लडाइँ कुनै एउटा निकाय वा क्षेत्रमा सीमित छैन ।” उनले भने, “बैंकिङ,  बीमा, पुँजीबजार, सहकारी र सबै सरोकारवाला पक्षको  साझा प्रतिबद्धता आवश्यक छ ।” सम्पत्ति शुद्धीकरण निवारणको प्रयासमा देखिएका कमजोरी सुधार गर्दै नवीनतम अभ्यासको अनुसरण गर्ने सन्दर्भमा उक्त सम्मेलन फलदायी रहने उनको विश्वास थियो ।

सम्मेलनमा स्वागत मन्तव्य राख्दै बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले सम्पत्ति शुद्धीकरण निवारणमा देखिएका जोखिम र चुनौतीलाई सम्बोधन गर्न तथा नियामकीय र सुपरिवेक्षकीय अभ्यासको सुदृढीकरण गर्न उक्त सम्मेलन सार्थक रहने धारणा राखे ।
उद्घाटन सत्रमा राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटी र बैंकका कार्यकारी निर्देशकहरूको उपस्थिति थियो ।

सम्मेलनमा भारत, बङ्गलादेश, श्रीलङ्का र मङ्गोलियाका विषय विज्ञ र नेपाल राष्ट्र बैंकसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न  मन्त्रालय, वित्तीय क्षेत्रका नियामकीय निकाय, नेपाल सरकारका नियमनकारी र अनुसन्धानकारी निकायका प्रतिनिधिहरू सहभागी छन् ।सम्मेलनमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका समसामयिक चुनौती र जोखिम, सो विषयका नियामकीय, सुपरिवेक्षकीय र न्यायिक दृष्टिकोण, सम्बद्ध निकायका क्षमता अभिवृद्धिलगायतका विषयमा सघन छलफल हुनेछ ।

सम्मेलनको पहिलो दिन दुई वटा कार्यपत्र प्रस्तुत भयो भने एउटा विषयमा प्यानल छलफल भएको थियो । नेपाल राष्ट्र बैंकका उप–निर्देशक अभियान उपाध्यायले ‘Current Status of AML/CFT Regime in Nepal with Regards to Mutual Evaluation 2023’ विषयमा कार्यपत्र प्रस्तुत गरे ।

यसैगरी, श्रीलङ्काको वित्तीय जानकारी इकाइका वरिष्ठ सहायक निर्देशक सुपुन गुणासेकाराले ‘Pertinent Issues on Trade and Service Based Money Laundering and Counter Measures विषयमा दोस्रो कार्यपत्र प्रस्तुत गरे । सम्मेलनका क्रममा ‘The Importance of Consolidated and Co-ordinated Efforts to Counter Money Laundering (Supervisory Perspectives)’ विषयमा विज्ञहरूबीच प्यानल छलफल भएको थियो ।

सो छलफलमा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, वित्तीय जानकारी इकाइका प्रमुख वासुदेव भट्टराई, धितोपत्र बोर्डका कार्यकारी निर्देशक रुपेश केसी, नेपाल बीमा प्राधिकरणका उप–निर्देशक हृदयश्वर पण्डित र बङ्गलादेश बैंकका उप–निर्देशक मोहम्मद फैसल कबिर सहभागी थिए भने बैंकिङ विज्ञ भुवनकुमार दाहालले छलफलको सहजीकरण गरे ।

सम्मेलनको दोस्रो दिन बिहीबार तीन वटा कार्यपत्र प्रस्तुतिसँगै एउटा प्यानल छलफल हुनेछ । रिजर्व बैंक अफ इण्डियाका महाप्रबन्धक विजय रैनाले ‘Regulatory Tools and Techniques to Detect ML/PF/TF including RBI initiatives: Data analytics and Use of Technology in Supervision and Risk Assessments’ र मङ्गोलियाको फाइनान्सियल  रेगुलेटरी युनिटका सुपरीवेक्षक नोमिचुलुन बाट्सुखले ‘From Increased Monitoring (Grey List) to Delisting’ – Impacts, Success Story, and Lessons from Mongolia’s Journeys to Delisting and Take Away for Nepal’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

यसैगरी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रकाशचन्द्र लामिछानेले ‘Financial Intelligence Unit Report Dissemination and its Use Under ML/TF Investigation’ विषयमा प्रस्तुति दिनेछन् । सम्मेलनको अन्तिम The Importance of Consolidated and Coordinated Efforts to Counter Money Laundering TF/PF (Judicial Perspectives)’ विषयमा विज्ञहरूबीच प्यानल छलफल हुनेछ ।

उक्त छलफलमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेल, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुर, कानुन मन्त्रालयका सहसचिव विनोद भट्टराई, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठ, भारत सरकार, डिरोक्टेरेट अफ इन्फोर्समेन्टका सहायक कानुनी सल्लाहकार गौरव सैनीको सहभागिता रहनेछ भने नायब महान्यायाधिवक्ता संजीवराज रेग्मीले छलफलको सहजीकरण गर्नेछन् ।

सम्मेलनको अन्त्यमा सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखाका प्रमुख आर्या जोशीले समापन मन्तव्य राख्नेछन् । नेपाल एफएटीएफको ‘ग्रे–लिस्ट’मा परेको सन्दर्भमा सम्पत्ति शुद्धीकरण निवारणमा कानुनी तथा नीतिगत व्यवस्थाको सबलीकरण र प्रभावकारी कार्यान्वयनका निम्ति अन्य मुलुकको असल अभ्यासको अनुसरण र क्षमता विकासको निम्ति यो सम्मेलन परिणाममुखी हुने अपेक्षा गरिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार