
चितवन। विगतका वर्षमा यतिबेला सौराहाका होटल ८० प्रतिशत हाराहारी भरिने गरेका थिए । यस वर्ष यतिबेला आधा हाराहारी मात्र पर्यटक यहाँ आएका छन् । मुख्य याममा पर्यटक नआउँदा व्यवसायीमा निरासा छाएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे फेब्रुअरी, मार्च र अप्रिल महिना सौराहाको मुख्य पर्यटकीय मौसम भएको बताउँ छन् ।
गत वर्ष यतिबेला होटलका ८० प्रतिशत कोठा भरिने गरेका उल्लेख गर्दै यस वर्ष ५० प्रतिशतभन्दा कम कोठा बुक भएका उनको भनाइ छ । अध्यक्ष पाण्डेले भने, “एकदमै राम्रो पर्यटकीय याममा पनि किन पर्यटक आएनन् हामी सोचमग्न छौँ ।” यो बेलामा चितवन राष्ट्रिय निकुञ्जमा ढड्डी फाँडेर टाढासम्म देखिने भएकाले सजिलै वन्यजन्तु हेर्न सकिन्छ । मौसमका हिसाबले पनि गर्मी र जाडो दुबै नहुने भएकाले सबैका लागि उपयुक्त यही समय हो । सबै हिसाबले राम्रो भए पनि विदेशी पर्यटक न्यून मात्र आउँदा व्यवसाय प्रभावित भएको उनको भनाइ छ ।
सौराहामा मात्र नभएर देशभरको अवस्था उस्तै रहेको अध्यक्ष पाण्डेले बताए । उनले भने, “पर्यटक नआउनुको कारण खोज्नुपर्ने भएको छ ।” सङ्घका उपाध्यक्ष गुणराज थपलिया निर्वाचनका कारण विदेशी पर्यटक नआउँदा सौराहामा पर्यटकको सङ्ख्यामा कमी आएको बताएका छन् । निर्वाचनपछि पर्यटक बढ्ने उनले अपेक्षा गरे । होटल व्यवसायी सुमन घिमिरे निर्वाचनको मुखमै पर्यटकको आगमनमा कमी आएको बताउनुहुन्छ । विशेष अवस्थामा निर्वाचन हुन लागेको उल्लेख गर्दै उनले अन्तरराष्ट्रिय जगतमा यहाँको अवस्था शान्तिपूर्ण छ भन्ने सन्देश पुग्न जरुरी भएको बताए ।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा गत वर्ष यतिबेला दैनिक चार खेप गर्ने हात्तीले अहिले एक खेप मात्र गर्ने गरेको बताउँ छन् । पर्यटकको आगमनमा कमी आएपछि व्यावसायिक रुपमा पालिएका हात्तीका सञ्चालक प्रभावित भएका छन् । रेष्टुरेन्ट व्यवसायीसमेत रहनुभएका खतिवडाका अनुसार पर्यटक नआएपछि सौराहाका रेष्टुरेन्टमा प्रत्यक्ष प्रभाव परेको छ । मुख्य मौसममा पर्यटक घटेपछि पर्यटकीय गतिविधिमा काम गर्ने समग्र व्यवसाय प्रभावित भएको उनले बताए ।
बनबास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपाने सौराहामा यो मौसममा पर्याप्त पर्यटक आउने भए पनि यस वर्ष कमी आएको बताए । होटल क्षेत्रमा लामो अनुभव सगाल्नु भएका उनले पर्यटक आउनेमा आशावादी छन् । सौराहामा १४८ होटल छन् । जहाँ सात हजार २०० पर्यटक अट्ने क्षमता छ । यस क्षेत्रमा प्रत्यक्ष रुपमा ६ हजार ४०० जनाले रोजगारी पाएको छ । अप्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या १२ हजारभन्दा बढी छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनमा दुर्लभ एक सिङ्गे गैँडा, पाटेबाघ, घडीयाल गोहीलगायतका दुर्लभ वन्यजन्तु र चराचुरुङ्गी हेर्न यहाँ स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।
यसका अतिरिक्त सौराहामा थारु संस्कृति पनि पर्यटकका लागि रुचिकर बन्दछ । यसका साथै नेपालका विभिन्न सङ्घ संस्था कार्यक्रम गर्न सौराहा आउँछन् भने भारतीय नागरिक बढी मात्रामा यहाँ आउने गर्छन् ।













समाचार
हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन
मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान