
काठमाडौं । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको आईसीसी टी–२० विश्वकपको फाइनलमा भारतले न्यूजिल्यान्डलाई हराउँदै च्याम्पियन बनेको छ । यससँगै भारत टी–२० विश्वकप तीन पटक जित्ने पहिलो देश बनेको छ । भारतले सन् २००७, २०२४ र अब २०२६ मा टी–२० विश्वकप जितेको हो ।
भारतले न्यूजिल्यान्डलाई जितका लागि २ सय ५६ रनको लक्ष्य दिएको थियो । तर न्यूजिल्यान्ड १९ ओभरमा १ सय ५९ रनमै अलआउट भयो । यसरी भारतले न्यूजिल्यान्डलाई ९६ रनले हराउँदै लगातार दोस्रो पटक टी–२० विश्वकप जित्ने टोली पनि बन्यो । फाइनलमा भारतका ब्याट्सम्यान र बलर दुवैले उत्कृष्ट प्रदर्शन गरे । जसप्रीत बुमराहले चार ओभरमा मात्र १५ रन दिँदै चार विकेट लिए । त्यस्तै अक्षर पटेलले तीन ओभरमा २७ रन दिँदै तीन विकेट लिएर भारतको जितमा महत्वपूर्ण भूमिका खेले । त्यसअघि सञ्जु सामसन, इशान किशन र अभिषेक शर्माको आक्रामक ब्याटिङका कारण भारतले २० ओभरमा २ सय ५५ रनको ठूलो स्कोर बनाएको थियो ।
जसप्रीत बुमराहलाई उत्कृष्ट प्रदर्शनका लागि ‘प्लेयर अफ द म्याच’ घोषित गरियो । लगातार तीन अर्धशतक बनाएका सञ्जु सामसन ‘प्लेयर अफ द टूर्नामेन्ट’ बने । २ सय ५६ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएका न्यूजिल्यान्डका ओपनर टिम सिफर्ट र फिन एलेन सुरुदेखि नै दबाबमा देखिए । पहिलो ओभरमा अर्शदीप सिंहविरुद्ध न्यूजिल्यान्डले केवल ४ रन मात्र बनायो । दोस्रो ओभरमा भने हार्दिक पाण्ड्याको बलिङमा टिम सिफर्टले २१ रन बनाए । तर तेस्रो ओभरको चौथो बलमा अक्षर पटेलले फिन एलेनलाई आउट गर्दै भारतलाई पहिलो सफलता दिलाए ।
चौथो ओभरको पहिलो बलमा जसप्रीत बुमराहले रचिन रविन्द्रलाई आउट गरे। पावरप्लेमा न्यूजिल्यान्डले ५२ रन बनाउँदा ३ विकेट गुमायो । टिम सिफर्टले २३ बलमा अर्धशतक बनाए पनि नवौँ ओभरमा वरुण चक्रवर्तीले उनलाई आउट गरे । त्यसबेला न्यूजिल्यान्ड ७२ रनमै ५ विकेट गुमाइसकेको थियो । पछि कप्तान मिचेल स्यान्टनर र ड्यारिल मिचेलले साझेदारी गर्दै इनिङ्स अघि बढाए । तर १३औँ ओभरमा अक्षर पटेलले ड्यारिल मिचेललाई आउट गर्दै यो साझेदारी तोडे ।
१६औँ ओभरमा जसप्रीत बुमराहले लगातार दुई बलमा जिमी निसम र म्याट हेनरीलाई आउट गरे । त्यसपछि १८औँ ओभरमा उनले मिचेल स्यान्टनरलाई बोल्ड गरे । अन्ततः १९औँ ओभरको अन्तिम बलमा अभिषेक शर्माले जेकब डफीलाई बोल्ड गर्दै न्यूजिल्यान्डलाई १ सय ५९ रनमै समेटे । यो इनिङ्समा न्यूजिल्यान्डका फिन एलेन (९ रन), रचिन रविन्द्र (१ रन) र ग्लेन फिलिप्स (५ रन) जोड्दै चाँडै आउट भए । सुरुआती विकेट छिट्टै गुमाए पनि ओपनर टिम सिफर्टले एक छेउ सम्हालेर खेले। उनले २६ बलमा ५२ रनको अर्धशतकीय पारी खेले । उनका अलावा कप्तान मिचेल स्यान्टनरले ४३ रन बनाए । तर पनि उनीहरूले टोलीको हार टार्न सकेनन् । अन्ततः न्यूजिल्यान्ड १९ ओभरमा १ सय ५९ रनमै अलआउट भयो ।
भारतका लागि ओपनिङ सञ्जु सामसन र अभिषेक शर्माले गरे । चार ओभरमै भारतले बिना विकेट गुमाएर ५० रन पार गर्यो । अभिषेक शर्माले १८ बलमा अर्धशतक बनाए । पावरप्लेमा भारतले ९२ रन बनायो, जुन टी–२० विश्वकप इतिहासकै सबैभन्दा ठूलो पावरप्ले स्कोर हो । पछि रचिन रविन्द्रले अभिषेकलाई आउट गरे । उनले २१ बलमा ५२ रन बनाए । त्यसपछि इशान किशन र सञ्जु स्यामसनले रनको गति कायम राखे । सञ्जुले ३३ बलमा अर्धशतक पूरा गरे र लगातार तेस्रो फिफ्टी बनाए । १४औँ ओभरमा उनले रचिन रविन्द्रविरुद्ध लगातार तीन छक्का प्रहार गरे ।
इशान किशनले २३ बलमा अर्धशतक पूरा गरे । दोस्रो विकेटका लागि ४५ बलमा १०० रनको साझेदारी भयो । १५ ओभरमै भारतको स्कोर २०० रन पार गरिसकेको थियो । १६औँ ओभरमा जिमी निसमले तीन विकेट लिएर न्यूजिल्यान्डलाई खेलमा फर्काउने प्रयास गरे । उनले सञ्जु सामसन (८९), इशान किशन (५४) र कप्तान सूर्यकुमार यादवलाई आउट गरे। हार्दिक पाण्ड्या पनि १३ बलमा १८ रन बनाएर आउट भए । तर अन्तिम ओभरमा शिवम दुबेले जिमी निसमविरुद्ध २४ रन बनाए र भारतको स्कोर २ सय ५५ रन पुर्याए । उनी ८ बलमा २६ रन बनाएर नटआउट रहे ।
भारतीय टोलीले पछिल्ला २० महिनामा तेस्रो आईसीसी उपाधि जितेको हो । जुन २०२४ मा भारत टी–२० विश्वकप च्याम्पियन बन्यो, मार्च २०२५ मा आईसीसी च्याम्पियन्स ट्रफी जित्यो र अब २०२६ मा फेरि टी–२० विश्वकप पनि आफ्नो नाममा गर्यो ।













समाचार
मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन’मा बाँदर आतंक समाधान गर्ने ‘इनोभिजन’ विजेता
परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ
राष्ट्रिय सभामा एलपी ग्यास अभावबारे सरकारको ध्यानाकर्षण
काँकडभिट्टा नाकाबाट चिया निर्यातमा गिरावट, आम्दानी पनि घट्यो
सरकारले ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने, सार्वजनिक गर्यो तालिका
जीवन बीमा कम्पनीको व्यवसाय दुई खर्ब नाघ्यो , १२.४३ प्रतिशतले व्यवसाय बढ्दा कुन कम्पनीको कति पुग्यो ?
पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा
इरानसँग वार्ता गर्ने ट्रम्पको घोषणाले कच्चा तेलको भाउ घट्यो
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता