प्रभु इन्स्योरेन्सले बोलायो साधारणसभा, के के छन् एजेण्डा ? 

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको चैत १७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख ९ गते ३० औँ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।

उक्त सभा काठमाडौंको तिनकुनेस्थित प्रभु इन्स्योरेन्स लिमिटेड, “प्रभु कम्प्लेक्स” मा बिहान ११ बजे सुरु हुने छ । उक्त साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको गत आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, इक्विटीमा भएको परिवर्तन लगाएत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरण सहितका अनुसूचीहरू पारीत गर्नेछ ।

त्यसैगरी सञ्चालक समितिबाट प्रस्ताव भए अनुसार प्रस्तावित बोनश शेयरमा लाग्ने कर प्रयोजनको लागि कम्पनीको चुक्ता पूँजी १ अर्ब ७० करोड ९ लाख ५५ हजार ९१९ को ०.४५७९ प्रतिशतले हुन आउने रकम ७७ लाख ८८ हजार ५८८ रुपैयाँ नगद लाभांश पारित गर्नेछ । आर्थिक वर्ष २०८२/०८३ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारीश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट प्रस्ताव भए अनुसार आर्थिक वर्ष २०८१/०८२ सम्मको बितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको ८.७० प्रतिशतले हुन आउने १४ करोड ७९ लाख ८३ हजार १६५ रुपैयाँ बराबरको बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने र बोनश सेयर बितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित सेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्नेछ ।

त्यस्तै बोनश शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि हुने हुँदा सोको लागि कम्पनीको प्रबन्धपत्रको दफा ६ (क) तथा नियमावलीको नियम २.१ (क) संशोधन गरी सोहि हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने, कम्पनी ऐन २०६३ को दफा १०५ (१) को खण्ड (ग) बमोजिम आ.व २०८१/०८२ मा कम्पनीबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्चको अनुमोदन गर्नेछ ।

त्यसैगरी संशोधित प्रबन्ध पत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै संशोधन वा फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार संशोधन वा फेरवदल गरी कार्यान्वयन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ । कम्पनीको वार्षिक साधारणसभा तथा निर्वाचन प्रयोजनको लागि चैत्र २६ गते बिहिबार १ दिनको लागि कम्पनीको सेयरधनी दर्ता किताब बन्द (बूक क्लोज) गरिनेछ । बूक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडमा कारोवार भई ७ दिनभित्र यस कम्पनीको सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंले प्राप्त गरेको नामसारीको कागजातका आधारमा सेयरधनी दर्ता किताबमा कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार