एचजेएनबीएल : कीर्तिपुरले रोएललाई हरायो

काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ अन्तर्गत आइतबार भएको पहिलो खेलमा कीर्तिपुरले रोएललाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा कीर्तिपुरले रोएललाई ८८-६७ ले पराजित गरेको हो ।
प्लेअफ होडबाट यसअघि नै बाहिरिसकेको कीर्तिपुरले अन्तिम लिग खेल जित्दै प्रतियोगिता सकाएको हो ।

कीर्तिपुरले १४ मध्ये ४ खेलमा जित र १० हारबाट १८ अंक जोडेर पाँचौ स्थानमा रह्यो । रोएलले भने १४ मध्ये २ खेल मात्र जित्दा १२ खेलमा पराजित भयो । रोएलले १४ खेलबाट १६ अंक जोड्यो । पहिलो क्वाटरमा दुवैले १६-१६ अंक जोडेको थियो । दोस्रो क्वाटर कीर्तिपुरले २८-१८ ले आफ्नो पक्षमा पारेपछि हापटाइसम्म ४४-३४ को अग्रता बनायो । तेस्रो क्वाटरमा दुवैले समान २० अंक जोडे ।  कीर्तिपुरका सोनम महर्जन म्यान अफ दि म्याच घोषित भए ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको एचजेएनबीएलमा ८ टिमले डबल राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । जसमा त्रिभुवन आर्मी, गोल्डेनगेट बास्केटबल क्लब, टाइम्स बास्केटबल क्लब र केभिसी हाउण्ड्स शीर्ष चारमा रहेर प्लेअफमा पुग्दा कीर्तिपुर र रोएलसँगै प्लेक्स एरेना र सोलो बास्केटबल भने प्लेअफ होडबाट बाहिरिएका छन् । ८ मध्ये बटम चारमा रहने चार टोली भने रेलिगेट हुने अब अर्को संस्करणका लागि क्वालिफायर खेल्नुपर्ने नेबा अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए ।

शीर्ष चार टोली भने उपाधि होडमा कायम छ । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार