विराटनगर। नेपाल बीमा प्राधिकरणको आयोजनामा स्थानीय तहसँग बीमा प्रवर्द्धनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम भोजपुर नगरपालिकामा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि भोजपुर नगरपालिकाका नगरप्रमुख कैलाशकुमार आलेले कृषि तथा पशुपन्छी बीमा र घर बीमालाई योजनाबद्ध रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले बीमा क्षेत्रको अभ्यासले थप बलियो आधार पाउने विश्वास व्यक्त गर्दै क्षमता भन्दा बढी बीमा नगर्न सबैलाई आग्रह गरे ।
नगरप्रमुख आलेले विपद्को समयमा स्थानीय सरकारले उपलब्ध गराउने राहत मात्र पर्याप्त नहुने उल्लेख गर्दै जोखिम हस्तान्तरणमार्फत आर्थिक सुरक्षा सुनिश्चित गर्न बीमा अपरिहार्य रहेको बताए । नेपाल बीमा प्राधिकरणकी कार्यालय प्रमुख प्रिती देवले नगरपालिकाका सेवासँग बीमालाई आबद्ध गर्नुपर्नेमा जोड दिइन् । उनले बीमामार्फत घर तथा अन्य सम्पत्तिको जोखिम बीमा कम्पनीमा हस्तान्तरण भई आर्थिक सुरक्षा सुनिश्चित हुने बताइन् ।
उनले घटना कहिले हुन्छ भन्ने पूर्वानुमान गर्न नसकिने भएकाले दुर्घटना बीमा, कृषि तथा पशुपन्छी बीमालाई प्राथमिकताका साथ प्रवर्द्धन गर्न र विपन्न वर्गको बीमा स्थानीय तहबाटै सुनिश्चित गर्ने व्यवस्था गर्न सुझाव दिइन्। साथै, आर्थिक क्षतिबाट जोगिन इजाजतप्राप्त बीमा कम्पनीबाट मात्रै बीमा गर्न उनले आग्रह गरिन् । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सचिन राईले बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुतीकरण गरेका थिए ।
अन्तरक्रियामा भोजपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न बीमा कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण काेशी प्रदेश कार्यालय प्रमुख प्रिती देवले गरेकी थिइन् भने विशेष अतिथिका रूपमा नगर उपप्रमुख निर्मला शेर्पाले उपस्थिति थिइन्। कार्यक्रमको सञ्चालन सहायक निर्देशक मिलन पोखरेलले गरेका थिए ।