म्याग्दी । अन्नपूर्ण गाउँपालिका-५ मा रहेको पाउद्वार मुर्ताला धार्मिक गुफा पर्यटक र पूर्वाधारको पर्खाइमा छ। स्थानीयवासीले ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ नामकरण गरेको यस गुफाभित्र अनौठा दृश्यहरू अवलोकन गर्न सकिन्छ। पाउद्वारका बासिन्दा जसे पुनका अनुसार दुईतले गुफाभित्र विभिन्न देवीदेवता, मानिसको शरीरका अङ्ग, शिवलिङ्ग, जनावरका थुन, खुर, सिङजस्ता आकृतिहरू अवलोकन गर्न सकिन्छ, तर यो गुफा ओझलमा परेको छ।
“गुफाभित्र मूर्तिकारले पहाडको चट्टान कुँदेर बनाएजस्ता विचित्रका दृश्यहरू देख्दा अनौठो लाग्छ,” उनले भने, “स्थानीय स्तरमा सीमित यो गुफाको धार्मिक तथा ऐतिहासिक महत्त्वको विषयमा अध्ययन, संरक्षण, व्यवस्थापन, पूर्वाधार निर्माण र प्रवर्द्धन गरी धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न हामी पाउद्वारवासी जुटेका छौँ।”
यहाँ गणेश, शिवलगायत हिन्दु धर्मावलम्बीहरूका देवीदेवताका आकृतिहरू पनि भेटिन्छन्। तपतप गरेर पानी चुहिरहने यो गुफा करिब १० मिटर लामो भएको स्थानीय बताउँछन्। गुफाभित्र अँध्यारो हुने भएकाले बत्ती अथवा टर्चलाइट बाल्नुपर्छ। टेक्ने भुइँ चिप्लो र गुफा होचो भएको हुँदा घोप्टो परेर हिँड्नुपर्छ र अवलोकन गर्दा सावधानी अपनाउनुपर्छ। स्थानीयवासीबाहेक बाहिरका पर्यटकहरू हालसम्म यस गुफाको अवलोकन गर्न नआएको पुनले बताए।
पाउद्वार गाउँदेखि सवारीसाधनमा १० मिनेट र त्यसपछि २० मिनेट पैदल हिँडेपछि झारवाङको छेउमा रहेको यस गुफामा पुगिन्छ। यसअघि गुफासम्म पुग्ने पदमार्ग थिएन, निगालोको झ्याङ समाएर गुफासम्म पुग्नुपर्ने अवस्था थियो। गुफा नजिकको झारवाङ खोलामा पुल पनि थिएन।
तर, अहिले पाउद्वारकी पुर्जा रोकाले आफ्नी आमा जैसराले पाउने ‘पेन्सन’ बापतको रकम खर्चेर गुफासम्म जाने करिब ३०० मिटर पदमार्ग निर्माण गरिदिएकी छन्। उक्त पदमार्ग निर्माणमा पाउद्वारवासीले श्रमदान गरेका छन्। त्यस्तै, झारवाङदेखि गुफासम्म ५०० मिटर तार तानेर विद्युत् पनि विस्तार गरिएको छ।
अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु. तीन लाख बजेटबाट झारवाङ खोलामा आठ मिटर लामो ट्रस पुल निर्माण भएको छ।
गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी पुनले उक्त गुफाभित्रका आकृतिहरू देखेर अनौठो महसुस भएको बताइन्। गुफाको विषयमा विस्तृत अध्ययन-अनुसन्धान गरेर धार्मिक र ऐतिहासिक तथ्यहरूको खोजी थालिएको पनि उनले बताइन्। त्यहाँका बासिन्दाले केही दिनअघि मात्रै उक्त गुफालाई ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ नामकरण गरेका हुन्।