महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत बीच भेटवार्ता, व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि स्लोभेनियाका लागि आवासीय राजदूत टोमाज मेन्सिनसँग महासंघ सचिवालयमा भेटवार्ता भएको छ । भेटका अवसरमा नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका लागि उल्लेख्य सम्भावना रहेको चर्चा गर्दै दुई देशबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउन पहल आवश्यक रहेकोमा जोड दिइएको छ ।

सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले स्लोभेनियालाई आर्थिक सहकार्यका लागि सम्भावनायुक्त साझेदारको रूपमा लिँदै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । “पछिल्लो समय नेपालमा बाह्य लगानीका लागि थुप्रै नीतिगत सुधारहरु भएका छन् । अहिले बहुमतको स्थायी सरकार निर्माण भएको छ । यसबाट नीतिगत स्थायित्व कायम हुनेमा निजी क्षेत्र आशावादी छ । यो अवस्थामा दुई देशबीच व्यवसाय–व्यवसाय बीटुबी सहकार्य, व्यापार भ्रमण तथा संयुक्त प्लेटफर्ममार्फत सम्बन्ध विस्तार गर्दै जान सकिन्छ र त्यसको लागि महासंघ तयार छ,” उनले भने ।

यस्तै स्लोभेनियाका लागि आवासीय राजदूत टोमाज मेन्सिनले नेपाल र स्लोभेनियाबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै आर्थिक साझेदारीलाई थप सुदृढ गर्दै जान सकिने बताए । स्लोभेनियाली जनताले नेपाललाई हिमालयको काखमा अवस्थित सुन्दर देश भनेर चिन्ने र  नेपाल भ्रमण गर्न रुचाउने उल्लेख गर्दै राजदूत टोमाज मेन्सिनले प्रविधि हस्तान्तरण, नवप्रवर्तन र संयुक्त लगानीका क्षेत्रमा पनि सहकार्य बढाउन सकिने धारणा राखे ।
सो अवसरमा नेपालका लागि स्लोभेनियाका अवैतनिक महावाणिज्यदूत हरिभक्त शर्मा पनि सहभागि थिए । नेपाल र स्लोभेनियाबीच सन् १९९७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार