
रामेछाप । रामेछापको मन्थली नगरपालिका–४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालन व्यवसाय सञ्चालन गरेकी छिन् । चार वर्ष बेलायत र ११ वर्ष दुबई र कतारमा रोजगारीमा गरेकी उनले अरूको मात्र काम गरिरहनुभन्दा स्वदेशमै फर्केर आफ्नो काम गर्न रुचि जागेपछि गाउँमा आएर बाख्रापालन व्यवसाय थालेकी हुन् ।
“अरुले गरेको कृषि तथा पशुपालनप्रति आकर्षित भएर यो पेसा अँगाल्ने अठोटका साथ गाउँ फर्केकी हुँ”, केसीले भनिन् । बाख्रापालनका लागि अहिले उनले गाउँमा करिब रु २० लाख खर्च गरेर आधुनिक खोर निर्माण गरेकी छिन् । बाख्रापालनमात्र नभएर कुखुरा, गाईभैँसी, माहुरीपालन र कफीखेती गर्ने योजना रहेको केसीले सुनाइन् ।
विसं २०८१ मा गाउँ आएर काम सुरु गरेको उल्लेख गर्दै केसीले अहिलेसम्म कुनै पनि निकायले यसका लागि सहयोग नगरेको बताइन् । उनले मन्थली नगरपालिकाअन्तर्गत रहेको पशु स्वस्थ्य शाखाका कर्मचारीहरूबाट भने आवश्यक प्राविधिक सल्लाह पाइरहेकी छिन् । उनका बुबा चित्र केसी छोरीको व्यवसायबाट खुसी छन् । उनले भने, “मेरा पाँच छोरीमध्ये अरू सबै सहरतिरै रोजगारीमा छन्, हामी श्रीमान श्रीमती पनि काठमाडौँमा बस्छौँ, कहिलेकाँही मात्र गाउँ आउने गरेका छौँ । वैदेशिक रोजगारीमा रहेकी छोरी रोजगारी छाडेर गाउँमै कृषि तथा पशुपालनमा लागेकामा खुसी लागेको छ ।”
गाउँमा रेखदेख गर्ने व्यक्तिको अभाव केसीलाई खड्केको छ । तर पनि उनी निरन्तर बाख्रापालन खटिरहेकी छिन् । “सक्दो मेहनत गरिरहेकी छु, हिम्मत हारेकी छैन, हेरम कति सफल भइन्छ”, केसीले भनिन् ।












समाचार
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
फुलहमलाई पराजित गर्दै चेल्सीको विजयी सुरुवात
प्रभु महालक्ष्मी लाइफको साढे ४ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा
बेनी हाइड्रोपावर प्रोजेक्टले भदौ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने
गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु
भोजपुरमा कोदो खेती घट्दै
इरानमाथि अमेरिकी नयाँ प्रतिबन्ध, पाँच मुख्य सम्पत्तिमा नजर
१८औँ संस्करणको ‘नाडा अटो शो’ आजदेखि सुरु हुँदै, उपराष्ट्रपतिले उद्घाटन गर्ने
धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका